काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले आगामी शनिवार साँझदेखि सोमबार बिहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले आज साँझ ‘मनसुन विशेष मौसम बुलेटिन’ जारी गर्दै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा र न्यून चापीय प्रणालीको प्रभावका कारण मनसुन अझ सशक्त हुने बताएको हो।
विभागका अनुसार असार १४ गते शनिवार साँझदेखि असार १६ गते सोमबार बिहानसम्म विशेषगरी कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ।
साथै अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। मनसुनको न्यून चापीय रेखा अहिले औसत स्थानमा रहेको र शनिबार साँझदेखि पश्चिम नेपाल नजिक उत्तरतर्फ सर्ने अनुमान गरिएको छ।
वर्षाको सम्भावित प्रभाव स्वरूप भू–क्षय, बाढी,पहिरो, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम रहन सक्ने विभागले जनाएको छ। साथै,ठुला तथा साना नदी–नालामा पानीको सतह बढ्ने, जनजीवन,कृषि,स्वास्थ्य, पर्यटन,निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने उल्लेख गरिएको छ।
सर्वसाधारण, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला सबै पक्षलाई पूर्व तयारीसहित सतर्क रहन र विभागको आगामी तीन दिने मौसम बुलेटिन नियमित रूपमा हेर्न पनि आग्रह गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले मनसुन प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
प्रतिक्रिया