उदयपुरमा जन्मदिनको भोज खाँदा २७ जना बिरामी

शुक्रबार, २३ साउन २०८२

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित चुहाडे नमुना चोकमा जन्मदिनको भोज खाँदा एकैपटक २७ जना बिरामी परेका छन्। जितेन्द्र राईको घरमा बिहीबार साँझ आयोजित जन्मदिनको भोजमा सहभागी भएका स्थानीयहरू एकपछि अर्को गर्दै बिरामी परेपछि जिल्ला अस्पताल गाईघाटमा उपचारका लागि ल्याइएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार भोजमा विभिन्न परिकारहरू — रोटी, पुरी, अचार, बुनियाँ, पुवा आदिको सेवन गरेका व्यक्तिहरूमा झाडापखाला, वान्ता र पेट दुख्ने लक्षण देखिएको थियो। प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार ती सबै बिरामीहरूलाई राति नै अस्पताल भर्ना गरिएको थियो।

जिल्ला अस्पताल गाईघाटका सूचना अधिकारी सुरेशकुमार पाण्डेका अनुसार भोजमा परोसीएको परिकारमा अखाद्य वस्तुको मिसावट भएको आशंका गरिएको छ। उनको भनाइअनुसार खाना विषाक्त (फुड प्वाइजनिङ) भएपछि यति ठूलो संख्यामा मानिसहरू एकैपटक बिरामी परेका हुन्।

बिरामीमध्ये २२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी पाँचजना—तीन महिला र दुई बालक—अझै अस्पतालमै उपचाररत छन्। पीडितहरूको संख्या ११ जना महिला, ३ जना पुरुष, ५ जना बालक र ८ जना बालिका रहेको प्रहरीले जनाएको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीले खाद्य नमुनाको परीक्षणका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ।

प्रतिक्रिया

अञ्जनीकुमार अधिकारी
लेखकको बारेमा
अञ्जनीकुमार अधिकारी
जिल्ला संवाददाता

उदयपुर जिल्ला निवासी अधिकारी विगत १ दशक अघिदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

सम्बन्धित समाचार