मदनभण्डारी राजमार्गका जोखिमयुक्त क्षेत्रमा संयुक्त ट्राफिक सचेतना अभियान

बुधबार, २८ साउन २०८२

उदयपुर । उदयपुरको मदनभण्डारी राजमार्गमा बढ्दो सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न स्थानीय युवा, जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र ट्राफिक प्रहरीले संयुक्त रूपमा सचेतना अभियान सञ्चालन गरेका छन्।

पूर्व–पश्चिम मदनभण्डारी राजमार्ग सञ्चालनमा आएको धेरै भएको छैन। तर निर्माण सम्पन्न भएयता उदयपुर खण्डमा दुर्घटनाको दर असामान्य रूपमा बढेको तथ्यांकले देखाएको छ। बसाहादेखि सिन्धुलीको भिमानसम्मको १३४ किलोमिटरमध्ये उदयपुरमा पर्ने ९१ किलोमिटर क्षेत्रमा मात्रै गत एक वर्षमा २६० वटा दुर्घटना भएका छन्। यस अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् भने ५१७ जना घाइते भएका छन्। ३४९ सवारीसाधन क्षतिग्रस्त भएका छन्।

सबैभन्दा बढी दुर्घटना हुने क्षेत्रमा उदयपुरको नेपालटार–गाईघाट सडक खण्डअन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अधेरीदेखि जोगी टोलसम्मको तीन किलोमिटर लामो सडक पर्छ। बाक्लो जंगल, ओरालो र चिल्लो सडकका कारण यो स्थान अति संवेदनशील मानिन्छ। केही दिनअघि मात्र सोही क्षेत्रमा गाडीको ठक्करबाट बाख्रा चराइरहेका एक स्थानीयको मृत्यु भएको थियो।

यस्तै घटनाले स्थानीय समुदायलाई चनाखो बनाएको छ। मंगलबार स्थानीय युवा उद्यमी प्रल्हाद कार्कीको नेतृत्वमा रौतामाई गाउँपालिका–७ का वडा अध्यक्ष मनोज राना मगर, उदयपुरगढी गाउँपालिका–७ का वडा अध्यक्ष भुवन केप्छाकी मगर, ट्राफिक प्रहरी र पत्रकारहरूको टोलीले दिनभर सवारी चालकहरूलाई सतर्क रहन र तीव्रगतिमा सवारी नचलाउन आग्रह गर्दै सचेतना अभियान सञ्चालन गरेका हुन्। टोलीले विशेषगरी ओरालो र अत्यधिक दुर्घटना हुने स्थानमा बिस्तारै सवारी चलाउन अपिल गर्‍यो।

स्थानीय प्रशासन, जिल्ला प्रहरी, ट्राफिक प्रहरी र सडक कार्यालयले पहिलेदेखि नै दुर्घटनाग्रस्त क्षेत्रमा सचेतना बोर्ड, संकेत रबर स्ट्रिप जस्ता चेतावनी संकेतहरू राखेका छन्। तर दुर्घटनामा कमी नआएपछि थप सक्रिय सचेतनामूलक कार्यक्रम आवश्यक ठानेको कार्कीले बताए। उनका अनुसार, “यो क्षेत्रमा दैनिकजसो दुर्घटना हुन्छ, त्यसैले बाध्य भएर अभियान चलाउनुपरेको हो।”

विशेषज्ञहरूको भनाइमा, मदनभण्डारी राजमार्गमा इन्जिनियरिङ त्रुटि र सवारीसाधनको तीव्र गति दुर्घटनाका प्रमुख कारण हुन्। धेरै मोड भएका घुम्ती सडकमा समेत चालकहरूले ४० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा सवारी चलाउने गरेको पाइन्छ। ट्राफिक प्रहरीले केही सवारी ८० किलोमिटर प्रतिघण्टासम्मको गतिमा चलाउने गरेको तथ्यांक प्रस्तुत गरेको छ। यी सबै कारणले उदयपुरमा अत्यधिक सवारी दुर्घटना भइरहेकोले तत्काल दिर्घकालीन समाधान खोजिनुपर्ने माग स्थानीयस्तरमा चर्किंदै गएको छ।

प्रतिक्रिया

अञ्जनीकुमार अधिकारी
लेखकको बारेमा
अञ्जनीकुमार अधिकारी
जिल्ला संवाददाता

उदयपुर जिल्ला निवासी अधिकारी विगत १ दशक अघिदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

सम्बन्धित समाचार