उदयपुर । नेपाल सरकारले किसानलाई वितरणका लागि पठाएको अनुदानको मल उदयपुरमा एक व्यापारीको गोदाममा फेला परेको छ। बिहीबार जिल्ला प्रशासन कार्यालय उदयपुरको अनुगमन टोलीले कटारी नगरपालिकामा गरेको बजार अनुगमनका क्रममा व्यापारी दिलिप चौधरीले सञ्चालन गरेको आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर को गोदाममा उक्त मल लुकाइएको अवस्थामा भेटिएको हो।
अनुगमन टोलीले करिब दुई सय बोरा अनुदानको मल फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेयले जानकारी दिए । पाण्डेयले गोदामलाई तत्काल शिल गरेर छानबिन प्रक्रिया अघि बढाइएको बताए । पाण्डेयका अनुसार, “कहाँबाट मल आएको हो, यसमा कसको मिलेमतो छ भन्ने विषयमा पूर्ण छानबिन हुन्छ।” साथै, आवश्यक कारबाहीका लागि कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइएको बताए ।
यस घटनापछि कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले संलग्न व्यक्तिहरूलाई कारबाही गर्न आजै छानबिन समिति गठन गरिने घोषणा गरे ।
कटारी बजारमा लामो समयदेखि मल अभाव रहेको र किसानहरू ठूलो मर्कामा परेका बेला व्यापारीको गोदाममा यति ठूलो परिमाणमा अनुदानको मल भेटिनु गम्भीर रहेको स्थानीयवासीले बताएका छन्। कृषक माधव धमलाले व्यापारीहरूले सरकारी अनुदानको मल लुकाएर कालोबजारी गर्ने गरेको आरोप लगाउँदै भने, “सरकारले किसानलाई सहजै मल पुर्याउने नीति ल्याएको भए पनि व्यापारीहरूले बीचमै मल रोकेर बढी मूल्यमा बेचिरहेका छन्।”
सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत सहकारी संस्थाका सिफारिसमा किसानलाई अनुदानको मल वितरण गर्ने व्यवस्था गरेको छ। तर कटारीमा व्यापारीको गोदाममै अनुदानको मल भेटिनुले सरकारी योजना दुरुपयोग भएको प्रस्ट देखिएको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय उदयपुरले बिहीबार कटारीका २८ पसलमा अनुगमन गरी करिब १ लाख २० हजार रुपैयाँ बराबरको अखाद्य तथा म्याद गुज्रिएका चामल, मसला, पेय पदार्थ, सुर्तीलगायतका सामान जफत गरी नष्ट गरेको छ। साथै, कानुनविपरीत व्यवसाय सञ्चालन गरेको भन्दै अञ्जली पाउरोटी उद्योग र रञ्जना स्पोट्र्स लाई ५–५ हजार रुपैयाँ जरिवाना गरिएको इलाका प्रशासन कार्यालय कटारीकी प्रमुख कोपिला थुलुङ राईले बताइन् ।
प्रतिक्रिया