उदयपुर : उदयपुरको बेलका नगरपालिकाले चाडवाड सुरु हुनै लागेका बेला १३ जना करारका कर्मचारीलाई सेवाबाट हटाएपछि चौतर्फी विरोध भएको छ । नगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो कार्यपालिका बैठकले भदौ १६ गते उनीहरुलाई करार नवीकरण नगर्ने निर्णय गरेको हो ।
यसअघि संस्थागत विकास तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरेको दरबन्दी बाहेक करार सेवामा कार्यरत कर्मचारीलाई नवीकरण नगर्ने सिफारिस गरेको थियो । तर नगरपालिकाले साउनमा सबै करार कर्मचारीको म्याद थपेको थियो । अहिले भने ८९ जनामध्ये १३ जनाको मात्र करार नवीकरण नगर्दा आन्तरिक असन्तुष्टि चुलिएको हो ।
उपप्रमुख जिरा राई, वडा अध्यक्ष वसन्त कुमार मगर, प्रेम बहादुर राउत, दिपकराज रेग्मीलगायतले निर्णयमा फरक मत राख्दै यसरी कर्मचारी हटाउँदा विकास र सेवामा प्रत्यक्ष असर पर्ने बताएका छन् । उनीहरुले नगरसभाले करार कर्मचारीलाई सुविधा व्यवस्थापन गर्ने निर्णय गरिसकेको भन्दै हटाउने आधार नै नभएको दाबी गरेका छन् ।
एमाले बेलका नगर अध्यक्ष हिराजंग राईले फरक राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई लक्षित गरिएको आरोप लगाएका छन् । स्थानीयले पनि चाडबाडको मुखमै कर्मचारी हटाइएको भन्दै नगरपालिकाको आलोचना गरेका छन् ।
उपप्रमुख राईले राजनीतिक पूर्वाग्रह होइन, विधि अनुसार निर्णय हुनुपर्ने बताइन् भने नगर प्रमुख अशोक कार्कीले यो सामान्य प्रक्रिया भएको र फजुल खर्च कटौतीका लागि मात्र यस्तो निर्णय गरिएको प्रतिक्रिया दिएका छन् ।
तर नगरपालिकाकै केही कर्मचारीले पूर्व जानकारी बिना चाडबाडको समयमा गरिएको यो निर्णय अन्यायपूर्ण भएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिक्रिया