काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीलाई जस्तै अब मन्त्रीहरू पनि जेन-जी युवाहरूले सामाजिक सञ्जाल प्लेटफर्म Discord मार्फत खुला र पारदर्शी भोटिङ गरेर छान्ने भएका छन्।
यस प्रणालीमा सर्वसाधारणले नै योग्य उम्मेदवारको नाम सिफारिस गर्नेछन्। त्यसपछि उम्मेदवारहरूको पृष्ठभूमि, विज्ञता र छविको मूल्याङ्कन गरिनेछ।
जेन-जीले तोकेको मापदण्डअनुसार उम्मेदवार कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएको, जनतामैत्री छवि भएको र समस्या समाधान गर्ने क्षमता भएको हुनुपर्नेछ।
जेन-जीका अगुवा सुदन गुरुङका अनुसार छनोट भएका नामहरूलाई अनलाइन मतदानमा राखिनेछ, जहाँ सर्वाधिक मत पाउने व्यक्तिले सम्बन्धित मन्त्रालयको नेतृत्व गर्नेछन्।
विशेषगरी स्वास्थ्य मन्त्रालयमा नयाँ नेतृत्व कसले पाउने भन्ने विषयमा ठूलो चासो देखिएको छ।
चर्चामा रहेका नामहरूमा प्रख्यात चिकित्सक डा. सन्दुक रुइत, डा. अर्जुन कार्की, डा. भगवान कोइराला, डा. जगदीशप्रसाद अग्रवाल, डा. भोला रिजाल र डा. गोविन्द केसीलगायतका नाम अग्रपङ्क्तिमा छन्।
तर, जेन-जी युवाहरू भने ५० वर्षभन्दा कम उमेरका, राजनीतिक रूपमा निष्पक्ष, र स्वास्थ्य क्षेत्रमा नयाँ दृष्टिकोणका साथ काम गर्न सक्ने ऊर्जावान् व्यक्तिलाई मन्त्री बनाउन चाहिरहेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले जेन-जीको भावना अनुसार नै मन्त्रिपरिषद् गठन गर्ने प्रतिबद्धता जनाएकी छिन्। जेन-जी प्रतिनिधिसँगको छलफलमा उनले भनिन्, “युवाहरूले देश चलाउने गरी म देश बनाउँछु।”
उनी मन्त्रिपरिषद् गठन भएपछि मात्रै औपचारिक रूपमा पदभार ग्रहण गर्ने तयारीमा छिन्। यसअघि उनले आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेटेर अवस्था बुझिसकेकी छिन् र आन्दोलनमा क्षति पुगेको महाराजगन्ज प्रहरी वृत्तको अवलोकन पनि गरेकी थिइन्।
प्रतिक्रिया