झापाको जनजीवन लयमा फर्किँदै : सार्वजनिक तथा निजी यातायातका साधन सञ्चालनमा

आइतबार, २९ भदौ २०८२

झापा । जेनजी आन्दोलनका कारण लामो समयदेखि अवरुद्ध रहेको झापाको जनजीवन क्रमशः सामान्यतर्फ फर्किन थालेको छ। आन्दोलनका क्रममा बन्द रहेका सरकारी कार्यालयहरू आजदेखि सञ्चालनमा आउने भएका छन्।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार आगजनीका कारण ध्वस्त भएका पालिका र वडा कार्यालयबाहेक अन्य सरकारी कार्यालय आजैदेखि खुल्ने भएका हुन्। उनले भने, “आन्दोलनका क्रममा जलेर ध्वस्त भएका नगरपालिका, गाउँपालिका र वडा कार्यालय सञ्चालनमा आउन तत्काल सम्भव छैन। बाँकी कार्यालय खोलेर आजैदेखि सेवा सञ्चालन हुन्छ।”

भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनले झापाको जनजीवन तनावग्रस्त बनेको थियो। तर अब अवस्था सामान्यतर्फ फर्किएको प्रजिअ अधिकारीले बताए। आज बिहानैदेखि सार्वजनिक तथा निजी सवारीसाधन निर्वाध रूपमा सञ्चालनमा आएका छन्। राजधानी, पोखरा, महेन्द्रनगर, वीरगञ्जलगायत लामो दूरीका बस सेवाहरू पनि सञ्चालनमा आएका छन्।

यस्तै, विद्यालय खोल्ने विषयमा मेचीनगर नगरपालिकाले आज बैठक बस्ने भएको छ। शिक्षा प्रमुख होमनाथ भण्डारीले भने, “प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक बसेर विद्यालय खोल्ने विषयमा निर्णय हुनेछ।”

आन्दोलनका क्रममा तीन जनाले ज्यान गुमाएका थिए भने अन्य घाइतेको उपचार विर्तामोडस्थित बीएण्डसी अस्पतालमा भइरहेको छ। आन्दोलन सुरु भएको भोलिपल्टदेखि लागु भएको निषेधाज्ञा शनिबारदेखि खुकुलो पारिएपछि जिल्लाका बिर्तामोड, काँकडभिट्टा, दमक, भद्रपुर, सुरुङ्गालगायतका बजार खुल्न थालेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार