प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

आइतबार, २९ भदौ २०८२

काठमाडौँ । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ। अमेरिकाको काठमाडौँस्थित दूतावासले आज जारी गरेको विज्ञप्तिमा गत हप्तामा भएका दुःखद् घटनापछि शान्तिपूर्ण समाधानको दिशामा भएको कदमलाई सकारात्मक रूपमा लिएको उल्लेख छ।

दूतावासले लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धता देखाएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी आन्दोलनका युवा नेताहरूको प्रशंसा गरेको छ। विज्ञप्तिमा भनिएको छ, “हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई सङ्क्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनःस्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा सम्मान गर्दछौँ।”

साथै, अमेरिकाले नेपालसँग सहकार्य गर्दै आगामी महिनाहरूमा हुने नयाँ निर्वाचनको तयारीमा समर्थन गर्ने प्रतिबद्धता जनाएको छ।

राष्ट्रपति पौडेलले यही भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार