भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ मा अवस्थित महभिर झरना पछिल्ला वर्षहरूमा पर्यटकको आकर्षक गन्तव्य बनेको छ। संरक्षण तथा विकासका कामसँगै यो जलधारा घुम्न आउनेहरूको रोजाइमा परेको हो।
मुन्दुम पदमार्ग क्षेत्र चखेवासँग नजिकै रहेको यो झरना मनोरञ्जनका लागि पर्यटकले बढी खोज्ने स्थल बनेको छ। सडकमार्ग सहज बनेपछि यहाँको आवागमन झन् बढेको वडाध्यक्ष हर्कराज राईले जानकारी दिए। उनका अनुसार झरनाबाट झर्ने पानीको फोहोराले आगन्तुकलाई लोभ्याउने गरेको छ। दैनिक दर्जनौँ पर्यटक रमाइलो गर्न आउने गरेका छन्। यसै आर्थिक वर्षमा पनि आवश्यक संरक्षण र विकासका लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडाध्यक्ष राईले बताए।
“महभिर झरना हाम्रो वडाको महत्त्वपूर्ण पर्यटकीयस्थल बनेको छ,” वडाध्यक्ष राईले भने, “यहाँको संरक्षण तथा विकास गरिएसँगै यो क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ। अझै पनि यसको विकासको लागि काम भइरहेको छ।”
गर्मी मौसममा यहाँ विशेष गरी धेरै पर्यटक आउने गरेका छन्। शनिबार र बिदाका दिनहरूमा विभिन्न स्थानबाट घुम्न आउनेहरूको भीड लाग्ने गरेको स्थानीयले बताएका छन्। करिब ६० मिटर अग्लो यो झरनामा बाह्रै महिना पानी झर्ने भएकाले आगन्तुक आकर्षित हुने गरेको छ।
गाउँपालिकाले झरनातर्फ पुग्ने बाटो विस्तार र वरिपरि आवश्यक संरचना निर्माणको काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए। सदरमुकामबाट नजिकै रहेकाले यहाँ मानिसहरूको भीड हुने गरेको उनको भनाइ छ।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार महभिर झरनालाई पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्न विगतदेखि नै प्रयास भइरहेका छन्। उनले भनिन्, “टेम्केमैयुङ प्राकृतिक स्रोत तथा पर्यटकीय क्षेत्रको धेरै सम्भावना भएको गाउँपालिका भएकाले यसलाई पर्यटनसँग जोडेर भावी योजनालाई अगाडि बढाइएको छ।”
यस्तै, गाउँपालिका अध्यक्ष सरोज बस्नेतले महभिर झरनासहित अन्य पर्यटकीय स्थलहरूको विकासमा प्राथमिकता दिइएको बताए। उनका अनुसार झरना हुँदै पदमार्ग विस्तार गरेर सहज आवागमन बनाउने योजना छ। “कृषि र पर्यटनलाई गाउँपालिकाको दिगो आर्थिक पक्षसँग जोड्ने लक्ष्य लिएर सोहीअनुसार लगानीमा जोड दिएको छ,” अध्यक्ष बस्नेतले भने।
भोजपुर–चखेवा मध्यपहाडी लोकमार्गसँग नजिकै पर्ने यो झरना सदरमुकाम भोजपुरबाट करिब २९ किलोमिटरको दूरीमा अवस्थित छ।
प्रतिक्रिया