विराटनगरमा बन्दकोपी बोकेर ल्याएको बोलेरोबाट २६२ किलो गाँजा बरामद, तीन जना पक्राउ

आइतबार, २९ भदौ २०८२

विराटनगर । विराटनगरमा तरकारीको गाडीमा राखेर ओसारपसार गर्दै गरेको गाँजा बरामद भएको छ । शनिवार राति विराटनगर–१५ पेट्रोल पम्पनजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको बोलेरो गाडीमा २ सय ६२ किलो ५ सय ८० ग्राम गाँजा बरामद भएको हो । 

गाँजा बरामदसँगै तीन जना पक्राउ परेका छन् भने चालक भने फरार छन् । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार इलाका प्रहरी कार्यालय रानीबाट खटिएको इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले उक्त गाँजा फेला पारेको हो ।

प्रहरीका अनुसार मे १ च ५८२६ नम्बरको बोलेरो गाडीलाई उत्तरबाट दक्षिणतर्फ तीव्र गतिमा आउँदा रोक्न खोजिएको थियो । तर, गाडी नरोकी भागेपछि पछि खोजी गर्ने क्रममा केही पर सडक किनारमा छाडिएको अवस्थामा भेटिएको थियो । गाडी जाँच गर्दा माथि बन्दकोपी राखिएको र तल ठूलो परिमाणमा गाँजा लुकाइएको देखिएको प्रहरीको भनाइ छ ।

गाडी नियन्त्रणमा लिएपछि प्रहरीले तत्कालै दुई जना व्यक्तिलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–५ की २० वर्षीया सञ्जु तामाङ र २२ वर्षीय निखिल घिमिरे छन् । सोधपुछ गर्दा पक्राउ परेकाले गाडी चालक भागेको बताएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले बरामद गरिएको गाँजा विराटनगर–१८ का श्यामकुमार यादवको भएको बताएका थिए । त्यसपछि आईसीपी रोडनजिक पर्खिरहेको अवस्थामा यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

बरामद भएको गाँजा, नियन्त्रणमा लिइएको गाडी र पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ भने फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार