काठमाडौं । जेनजी आन्दोलनमा गम्भीर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
वीर अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेका ती दुई जनाले शुक्रबार राति र शनिबार प्राण गुमाएको न्युरो सर्जन डा. राजीव झाले जानकारी दिए । ‘दुवै जनालाई टाउकोमा गोली लागेको थियो, भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो,’ डा. झाले भने, ‘तर हामीले बचाउन सकिएन ।’ मृतकहरूको परिचय भने खुलिसकेको छैन ।
प्रहरी तथ्यांकअनुसार सोमबार र मंगलबार भएको आन्दोलनमा गोली लागी ५१ जनाको मृत्यु भइसकेको छ । यससँगै मृतकको संख्या अझै बढ्ने आशंका गरिएको छ ।
यस्तै, आन्दोलनका क्रममा चाबहिल चुच्चेपाटीस्थित भाटभटेनीमा लागेको आगलागीबाट जलेका शवहरू पनि फेला पर्न थालेका छन् । आज बिहान मात्र त्यहाँबाट ६ वटा जलेका शव बरामद भएका छन् । सनाखत हुन नसकेका ती शवसहित आन्दोलनमा मृतकको संख्या ५० भन्दा माथि पुगेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया