उदयपुरको चौदण्डीगढी नगरपालिकाको गाडी सिंहदरवारमै जलेको पुष्टि

बुधबार, ०१ असोज २०८२

उदयपुर । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको गाडी जलेर नष्ट भएको पुष्टि भएको छ । नगरपालिकाका मेयर कालुमान लामाले प्रयोग गर्दै आएको स १ झा ५३० नम्बरको स्कार्पियो गाडी भदौ २४ गते सिंहदरवार परिसरभित्र आगलागीमा परेर पूर्णरूपमा क्षतिग्रस्त भएको मेयर लामाले जानकारी दिए।

लामाका अनुसार उनी भदौ १७ गते राजविराज हुँदै काठमाडौँ विमानमार्गबाट गएका थिए भने अर्को दिन अर्थमन्त्रालयले उपलब्ध गराएको पिकअप गाडी ड्राइभरमार्फत काठमाडौँ ल्याइएपछि सो गाडी पालिका पठाइएको थियो। तर, आफैंले प्रयोग गर्ने स्कार्पियो भने सिंहदरवारमै राखिएको थियो। भदौ २४ गते सिंहदरवार घेराउको सूचना पाएपछि उनले गाडीलाई सुरक्षित राख्ने उद्देश्यले सामान्य प्रशासन मन्त्रालयको पार्किङमा राखेका थिए। तर आन्दोलनकारीले सबै गाडीमा आगो लगाउँदा स्कार्पियो समेत जलेर नष्ट भएको उनले बताए।

यता, स्थानीयहरू भने मेयरले प्रयोग गर्ने गाडी एमालेको विधान महाधिवेशनका क्रममा नगरपालिकाका योजना आयोग उपाध्यक्ष किशोर ताम्रकारसँगै काठमाडौँ गएको दाबी गर्दै यसको स्पष्ट सत्यतथ्य पालिकाले सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

क्षति भएको गाडीको इन्सुरेन्स क्लेमका लागि आवश्यक प्रक्रिया पूरा भएको र कागजपत्र तयार गरिएको मेयर लामाले बताएका छन्।

प्रतिक्रिया

अञ्जनीकुमार अधिकारी
लेखकको बारेमा
अञ्जनीकुमार अधिकारी
जिल्ला संवाददाता

उदयपुर जिल्ला निवासी अधिकारी विगत १ दशक अघिदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

सम्बन्धित समाचार