शीर्ष वैज्ञानिकको सूचिमा परेका डा. सञ्जीव शर्माले धरानलाई सम्झिए

मंगलबार, ०२ मंसिर २०८२

धरान । अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले एन्सेभियरसँगको सहकार्यमा सार्वजनिक गरेको ‘ग्लोबल वैज्ञानिक प्रभाव र्‍याकिङ’ मा पर्न सफल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा मुटु–मिर्गौला रोग विशेषज्ञ प्रा.डा. सञ्जीव शर्माले आफ्नो उपलब्धिको श्रेय धरान, बीपी प्रतिष्ठान र आफ्नो टिमलाई दिएको छन्।

मंगलबार धरानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रा.डा. शर्माले आफूले करिब दुई दशकदेखि गरिरहेको अध्ययन र अनुसन्धानलाई प्रतिष्ठानले निरन्तर साथ दिएको बताए। उहाँले भने, “मैले २० वर्षदेखि उपचार पद्धति सुधारमा, विशेष गरेर सर्पदंश, मुटुरोग र मिर्गौलारोगको क्षेत्रमा काम गरिरहेँ। यो उपलब्धि मेरो मात्र होइन, प्रतिष्ठान, मेरा सहकर्मी र पूर्वका जनताले दिएको मायाको प्रतिफल हो।” उहाँका अनुसार अनुसन्धानको जिम्मा टिमले सामूहिक रूपमा पूरा गरे पनि नाम मात्र आफ्नो अगाडि आएको हो।

यस वर्षको ग्लोबल वैज्ञानिक प्रभाव र्‍याकिङमा नेपालका ३१ वैज्ञानिक समेटिएका छन्, जसमा प्रा.डा. शर्मा पनि छनोट भएका हुन्। उहाँले विशेषगरी सर्पदंश उपचार प्रणाली सुधार, मुटुरोग र मिर्गौलारोगसम्बन्धी अध्ययनमा उल्लेखनीय योगदान दिनुभएको छ। यही कामको प्रभावका कारण उहाँ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मा सर्पदंशसम्बन्धी कार्यक्रमका लागि नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै आउनुभएको छ।

सञ्चारकर्मीहरूसँगको संवादमा प्रा.डा. शर्माले नेपालको स्वास्थ्य क्षेत्रमा विश्वभरि चासो बढिरहेको उल्लेख गर्दै विदेशी वैज्ञानिकहरू यहाँका दूरदराजका जनतासँग काम गर्न इच्छुक रहेको बताए। उहाँले भने, “नेपालको स्वास्थ्य चुनौती ठूलो छ, तर यहाँको जनताको धैर्य, विश्वास र सहकार्यले धेरै काम सम्भव भएका छन्।”

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा युवा नेता भीमज्वाला राईको संयोजनमा भएको उक्त कार्यक्रमको सहजीकरण राईले गरेका थिए। कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बासहित धरानका विभिन्न सञ्चार माध्यमका पत्रकार सहभागी थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार