जनप्रतिनिधिले दिए लम्पी स्किन रोगविरुद्ध गाईको खोप किन्न एक महिनाको पारिश्रमिक

आइतबार, २४ बैशाख २०८०
इलाम । इलाममा ‘लम्पी स्किन डिजिज’ फैलिएपछि जिल्लाका किसानले पालेका गाई बिरामी पर्दै मर्न थालेका छन् । दुध बेचेर खर्च चलाउन र बालबच्चा पढाउँदै आएका किसान परिवार गाईमा आएको रोगका कारण समस्यामा छन् । लैनो गाई मर्न थालेपछि घर चिन्तित किसानलाई केही राहत मिल्ने भएको छ । इलाम नगरपालिका भित्रका किसानका लागि केही सहज हने अनुमान गर्न थालिएको छ । इलाम नगरपालिकाका जनप्रतिनिधिहरुले १ महिनाको पारिश्रमिक गाईको खोप खरिदमा नै लगाउने भएका छन् । उनीहरुले बैशाख अर्थात एक महिना बापतको मासिक पारिश्रमिक जम्मा गर्ने बताएका छन् । नगरपालिकाले नगरको १२ वटै वडाहरुमा लम्पी स्किन डिजिजको खोप लगाउन सुरु गरेको छ । शुक्रबार इलाम नगरपालिकामा मेयर केदार थापाको अध्यक्षतामा बसेको बैठकले शनिबारदेखि खोप लगाउने निर्णय गरेको थियो । सोही अनुसार खोप लगाउन सुरु गरिएको मेयर थापाले जानकारी दिए । उनका अनुसार किसानलाई समस्या भएको भन्ने जानकारी प्राप्त भएपछि नगरभित्रका किसानले पालेका गाईलाई खोप लगाउन सुरु गरिएको हो । यस अघि नगर उपप्रमुख विष्णु दहाल लिम्बुको अध्यक्षतामा बसेको बैठकले खोप खरिद गर्नको लागि नगरका सबै जनप्रतिनिधिहरुले १ महिनाको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको थियो । पहिलो चरणमा १६९ भायल खोप आइपुगेकोले करिब ४ हजार ७ सय २५ गाईवस्तुलाई खोप लगाइनेछ । त्यस्तै दोस्रो चरणमा करिब ५ हजार गाईवस्तुलाई खोप लगाइनेछ । यो खोप लम्पी स्किन डिजिजबाट संक्रमित भएको पशुलाई लगाउने नभई उक्त रोग प्रतिरोधी खोप भएको नगर पशु स्वास्थ्य शाखा प्रमुख रुपमान लिङदमले जानकारी दिए । पहिलो चरणमा गर्भवती गाई, लैनो गाई, १ वर्ष माथिका कोरली गाईलाई मात्र भ्याक्सिन लगाइ अन्य गाईगोरुलाई दोस्रो चरणमा लगाइनेछ । हाल किसानका घरघरमा पुगेर पशु प्राविधिकले खोप लगाइरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार