कोशी प्रदेशमा ६६ प्रतिशत कृषक, ५ लाख हेक्टरमा कृषिकर्म

बुधबार, १५ कार्तिक २०८०
विराटनगर । कोशी प्रदेशको ५ लाख ३२ हजार ९६७ हेक्टर जग्गामा कृषिकर्म भइरहेको तथ्यांक सार्वजनिक भएको छ । यो प्रदेशको कूल जनसंख्यामध्ये ६६ प्रतिशत परिवार कृषक छन् । राष्ट्रिय तथ्यांक कार्यालयले विराटनगरमा सार्वजनिक गरेको राष्ट्रिय कृषि गणनाको कोशी प्रदेशस्तरीय प्रतिवेदनमा ७ लाख ८६ हजार १०८ कृषक परिवारले ५ लाख ३२ हजार ९६७ हेक्टर जग्गामा कृषिकर्म गरिरहेको जनाइएको हो । कृषिकर्मबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने कृषक परिवारको संख्या ४४.१ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ । प्रदेशको कृषियोग्य जग्गामध्ये ५३.५ प्रतिशत सिँचित क्षेत्र रहेको छ । कृषक परिवारमध्ये ६८.३ प्रतिशतले सिँचाइ सुविधा प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ । प्रदेशमा धान खेतीका लागि योग्य जग्गा २ लाख ७९ हजार ३८९ हेक्टर छ भने मकैका लागि १ लाख ७९ हजार ९१७ र गहुँ खेतीका लागि ४६ हजार ४६८ हेक्टर रहेको जनाइएको छ । यसैगरी, आँप खेती १ हजार १६९, केरा १ हजार ७४९, सुन्तला १ हजार ६१८, कागती ७२५ र स्याउ १४९ हेक्टरमा खेती भइरहेको तथ्यांक छ । ३९ प्रतिशत कृषकले ट्याक्टर, ५.८ प्रतिशतले पावरट्रिलर र १३.७ प्रतिशतले फलामे हलोले खेती गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार