झापा । करोडौं रुपैयाँ खर्चिएर बिलासीका सवारी साधन खरिद गर्न अग्रसर देखिएका झापाका स्थानीय तहका जनप्रतिनिधिले विपद्का लागि आवस्यक पर्ने वरुणयन्त्र किन्न भने कञ्जुस्याई गर्दा झापालीले करोडौं रुपैयाँको क्षति व्यहोर्नु परेको छ ।
बर्षेनि आगलागीका घटनाबाट करोडौं रुपैयाँको क्षति व्यहोर्दै आएका झापालीले पछिल्लो पटक मेचीनगर–१५ ज्यामिरगढीस्थित भवगती लेमिनेट्स प्लाइउड कारखानामा लागेको आगो नियन्त्रण गर्न भारतबाट समेत दमकल बोलाउनु पर्ने स्थिति सृजना भयो । यस अघि पनि मेची नगरको काँकरभिट्टास्थित जुत्ता कारखानामा भएको आगलागी नियन्त्रण गर्न नसक्दा भारतबाट नै दमकल बोलाउनु परेको थियो ।
झापाका स्थानीय तहले विपद् नियन्त्रणका लागि खरिद गरिनु पर्ने दमकल खरिदमा चासो नदिँदा झापालीले आगलागीकै कारण करोडौं रुपैयाँ गुमाउनु परेको छ । स्थानीय तहका जनप्रतिनिधि दमकल भन्दा स्काभेटर र डोजर खरिदमा अग्रसर देखिएका छन् । विकास निर्माणका नाममा खरिद गरिएका त्यस्ता सवारी अहिले कवाडीका रुपमा परिणत भएका छन् । तर, विपद्मा आवश्यक पर्ने दमकल लगायतका उपकरण खरिद्मा स्थानीय तहका जनप्रतिनिधिको ध्यान नदिँदा हरेक वर्ष आगलागीका कारण झापामा करोडौं रुपैयाँको क्षति व्यहोर्दै आएका छन् ।
मेचीनगरस्थित प्लाई उड उद्योगमा लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन ।झापाका स्थानीय तहमा भएका वरुणयन्त्रले मात्रै आगो निभाउन नसकेपछि छिमेकी जिल्ला सहित भारतबाट दमकल बोलाएको छ ।
आगलागी नियन्त्रणका लागि भारत नक्सलबारी ग्राम पञ्चायतसँगको सहकार्यमा २ वटा दमकल बोलाइएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलले जनाए ।
सीमावर्ती क्षेत्रमा विपद् आइलाग्दा वारिपारि सहकार्य हुने गर्छ । दुई वर्षअघि काँकडभिट्टाको एसएस फुटवेयरमा आगो लाग्दा भारतीय दमकलको सहयोगमा आगो निभाइएको मेचीनगरका व्यवसायी विजय डालमियाले जानकारी दिए ।
झापा, इलाम, मोरङ, सुनसरीलगायतका जिल्लाका दर्जनभन्दा बढी दमकलले बिहानैदेखि आगो निभाउने प्रयास गरिरहेका छन् । तर, कारखानाभित्रको केमिकलमा आगो सल्किएकाले नियन्त्रण प्रयास विफल बनेको जनाइएको छ । आगलागीबाट करोडौं क्षति भएको अनुमान गरिएको छ ।
प्रतिक्रिया