हाजिर जमानीमा छुटे कृष्णबहादुर महरा

शुक्रबार, ०९ चैत्र २०८०
काठमाडौं । इलेक्ट्रिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन्। सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले महरालाई हाजिर जमानीमा छाड्ने आदेश दिएका हुन्। महराका छोरा निर्मलको जमानीमा छुटेका हुन्। महरा विभिन्न रोगका बिरामी रहेको हुँदा छाड्न आदेश दिइएको कटुवालले बताए। उनका अनुसार मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५ अनुसार महरालाई छाडिएको हो। उक्त दफामा हिरासतमा रहेका व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने प्रावधान छ। ‘यस ऐन बमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी वा जमानत लिई वा निजलाई कुनै भरपर्दो व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ,’ उक्त दफामा भनिएको छ। धरौटी वा जमानीमा छाड्दा वा तारिखमा राख्दा त्यसरी छोडिएको वा तारिखमा राखिएको व्यक्ति उपर मुद्दा चलाउने भएमा त्यस्तो अवस्थामा निज उपस्थित हुने गरी निजको कागज गराउनुपर्नेछ। त्यसैगरी हाजिर जमानी दिने व्‍यक्तिले हाजिर जमानीमा छोडिएको व्यक्तिलाई अनुसन्धान अधिकारी वा सरकारी वकिल कार्यालयले तोकेको समयमा उपस्थित गराउनुपर्ने भनिएको छ। त्यस अनुसार उपस्थित नगराएमा हाजिर जमानी दिने व्यक्तिलाई अनुसन्धान गर्ने अधिकारीले ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने भनिएको छ। प्रहरीले गत सोमबार (चैत ५ गते) महरालाई कपिलवस्तुबाट पक्राउ गरेको थियो। उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको थियो। काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महराको सम्पर्क सुन तस्‍करका मुख्य नाइके दाओजिन वाङसँग सम्पर्क गरेको देखिएको भन्दै संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेको चार दिनपछि उनलाई हाजिर जमानीमा छाडिएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार