सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नेकपा एसलाई सघाउन कांग्रेस तयार

विहीबार, ०६ बैशाख २०८१
काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)लाई मुख्यमन्त्री दिन तयार देखिएको छ । बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच कांग्रेस नेता डा.नारायण खड्का निवासमा भएको भेटवार्तापछि मुख्यमन्त्रीमा कांग्रेसले एकीकृत समाजवादीलाई सघाउन तयार रहेको कांग्रेस निकट स्रोतले जनाएको छ । देउवा र नेपालबिच पौने एक घण्टा प्रदेश सरकार निर्माणका विषयमा छलफल भएको थियो । जसमा नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पक्षले पनि साथ दिने बुझिएको छ । सुदुरपश्चिमलगायत अन्य प्रदेश सरकारका विषयमा देउवाले बिहीबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा शीर्ष नेता एवम कानुनविदहरुसँग छलफल गरेका थिए । सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रमुख प्रतिपक्षी दलका सभापति देउवा र सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालबिचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । देउवा र नेपालीबिच सुदूरपश्चिम प्रदेश सरकार निर्माण साथै वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल भइरहेको हो । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बिहीबार साँझ ५ बजे सकिंदैछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार