विराटनगर / विराटनगरमा जिल्ला प्रशासन कार्यालयको उर्दी उलङ्घन भएपछि बिहीबार पनि झडप भएको छ । प्रदर्शनकारी र प्रहरीबिच भएको झडपमा परेर डिएसपीसहित ७ जना प्रहरी घाइते भएका छन् ।
मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीसहितका प्रहरी घाइते भएका हुन् । घाइते हुने अन्य प्रहरीमा वरिष्ठ सइ (वरिष्ठ प्रहरी नायव निरीक्षक) रुपेश थपलिया, असइ (प्रहरी सहायक निरीक्षक) कमल पौडेल, हवल्दार ममता चौधरी, सहायक हवल्दार सुशील खड्गा, रामकुमार विक र लक्ष्मण मण्डल रहेका छन् ।
घाइते प्रहरीको विभिन्न अस्पतालमा उपचार भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । उनका अनुसार विराटनगरको रानी क्षेत्रमा दोहोरो झडप भएको हो ।
झडपमा घाइते भएका सबैको अवस्था सामान्य छ । रामनवमीको अवसरमा एउटा समूहले निकालेको ¥यालीलाई अर्को समूहले अवरोध गरेपछि बुधबार पनि झडप भएको थियो । झडपमा ५ प्रहरी र १ बालक घाइते भएका थिए ।
विराटनगरको रानीमा बुधबार दुई पक्षबीच झडप भएपछि समन्वय बिना सभा, सम्मेलन र विभिन्न गतिविधि गर्नलाई स्थानीय प्रशासनले बिहीबारदेखि रोक लगाएको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहद्वारा जारी सूचनामा मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै सम्भावित मानवीय क्षति कम गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न जिल्ला प्रशासन कार्यालयसँग समन्वय नगरी राजनैतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधिलगायत सबै प्रकारका भेला, ¥याली, प्रदर्शन कार्यक्रम नगर्न÷नगराउन भनिएको छ ।
उक्त सूचनाको बेवास्ता गरेर दिउँसो ३ बजेतिर विराटनगर महानगरपालिका–१५ रामजानकी मन्दिरअगाडि ८-१० जना व्यक्तिले प्रदर्शन सुरु गरेका थिए । प्रदर्शन गर्नेमध्ये विराटनगर–१५ का २६ वर्षीय राजन झा र २४ वर्षीय रितेश झालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई नियन्त्रणमा लिएको विरोधमा बाँसको भाटा र लाट्ठी लिएर ५०-६० जनाको समूह साँझ ५ बजेतिर प्रदर्शनमा उत्रिएको थियो ।
उग्र बन्दै गएको प्रदर्शन नियन्त्रणमा लिन डीएसपी जोशीसहितको टोली प्रदर्शनस्थलमा पुग्नसाथ प्रहरीमाथि उक्त भीडले एक्कासि ढुंगामुडा गरेको प्रजिअ भट्टराईले बताए । प्रदर्शन रोक्ने क्रममा ढुंगामुडा हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको छ । अश्रुग्यास प्रहारपछि भीड तितरबितर भएको जानकारी भट्टराईले दिए ।
‘सुरक्षाका लागि पुगेको प्रहरीमाथि एक्कासि ढुंगामुडा भयो । स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘त्यसपछि भीड तितरबितर भएर अवस्था सामान्य बनेको छ । झडपमा परेर ७ जना प्रहरी घाइते भएका छन् ।’ अहिले स्थिति सुरक्षा नियन्त्रणमै रहेको जानकारी भट्टराईले दिए । उनका अनुसार घटनास्थल वरपर ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
अराजक गतिविधि गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रजिअ भट्टराईको भनाइ छ । विभिन्न गतिविधिका नाममा गलत गर्ने र हिंसा भड्काउन खोज्नेलाई छुट दिन नसकिने उनले बताए ।
प्रतिक्रिया