विराटनगर । काेशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
वैशाख २७ गते मुख्यमन्त्री भएका उनले मन्त्रिपरिषद विस्तार गरेर १० सदस्यीय बनाएका हुन् । मुख्यमन्त्री कार्कीले थप ५ मन्त्री र २ राज्यमन्त्रीसहित मन्त्रिपरिषद विस्तार गरेकाहुन् । मन्त्रीहरुले पाउने मन्त्रालयकाे पनि टुंगाे लागेकाे छ ।
यसअघि उनले २ जनालाई बिनाविभागीग मन्त्री नियुक्त गरेका थिए । यसअघि एमालेबाट रामबहादुर रानामगर र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री बनाएका थिए ।
रानामगरलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र उप्रेतीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ ।
नवनियुक्त मन्त्रीमध्ये एमालेका लीलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय , एकराज कार्कीलाई खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालय,पाँचकर्ण राईलाई सामाजिक विकास मन्त्रालय तथा माओवादीका राजेन्द्र कार्कीलाई स्वास्थ्य मन्त्रालय एवं नारायण बुर्जा मगरलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री आफैंले राखेका छन् ।
त्यस्तै राज्यमन्त्रीमा एमालेबाट सिर्जना राई र माओवादीबाट बन्दना झाँगड रहेका छन् । राईलाई मुख्यमन्त्री कार्यालय र झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयकाे जिम्मेवारी दिइने भएकाे छ ।
प्रदेश प्रमुखकाे कार्यालयमा नवनियुक्त मन्त्रीहरुकाे शपथकाे तयारी भइरहेकाे छ ।
प्रतिक्रिया