मोरङको लक्ष्मीमार्गमा ससुरा बुहारीमाथि दलियो कालो मोसो, ५ जना पक्राउ

शनिबार, ०५ जेठ २०८१
विराटनगर । मोरङको बेलबारीमा एउटै परिवारका ससुरा बुहारीमाथि कालो मोसो दलिएको छ । सडक निर्माणको विषयमा भएको विवादलाई लिएर बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा मोसो दलिएको हो । सुनसरीको धरान उपमहानगरपालिका–१२ घर भइ हाल बेलबारी–११ लक्ष्मीमार्गमा बस्दै आएका ७५ वर्षीय वृद्ध हरिबहादुर विष्ट र उनकी बुहारी ३७ वर्षीया सरस्वती बस्नेत (विष्ट)लाई स्थानीयले मोसो दलेको प्रहरीले जनाएको छ । सुम्निमा चोकबाट जुरातर्फ जाने सडक निर्माणका क्रममा स्थानीय र विष्ट परिवारबीच विवाद भएको थियो । विवादकै क्रममा कालो मोसो दलेर ससुरा बुहारीमाथि अमानवीय व्यवहार गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । कोशी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत करिब साढे १२ किलोमिटर लम्बाइ र २४ फिट चौडाइको सडक निर्माण ३ वर्ष अघिबाट सुरु गरिएको थियो । विष्टको जग्गा हुँदै बाटो बन्ने क्रममा छ । निर्माणाधीन सडकले आफ्नो दुवैतर्फको जग्गा काट्ने भन्दै विष्टले विरोध गर्दै आएका छन् । जग्गा धनीसँगको विवादका कारण सडक निर्माणले गति लिन सकिरहेको छैन । उक्त सडक निर्माण तत्काललाई अघि नबढाउन र जग्गा धनीसँग सहमति गरेर मात्रै काम गर्न उच्च अदालत विराटनगरले वैशाख ६ गते आदेश दिएको थियो । अदालतको आदेशपछि पनि जबरजस्ती काम अघि बढाउन खोजेको भन्दै जग्गा धनी विष्टका परिवार विरोधमा उत्रिएका थिए । उनीहरुले तत्काललाई सडकको काम अघि नबढाउन आग्रह गरे । त्यही विषयलाई लिएर विष्ट परिवार र स्थानीयबीच विवाद भएको प्रहरीले जनाएको छ । विवादकै क्रममा स्थानीयको भीडले गालीगलौज गर्दै लछारपछार पारेर विष्ट र उनकी बुहारीलाई शुक्रबार दिउँसो कालो मोसो दलेको एसपी कार्कीले बताए । घटनाका बारेमा प्रहरीले साँझ ६ः३० बजेतिर मात्रै जानकारी पाएको थियो । कालो मोसो दलेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले ५ जना स्थानीयलाई पक्राउ गरेको छ । जग्गा धनी विष्टले आफूहरुलाई कालो मोसो दलेर अभद्र व्यवहार गरिएको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएका छन् । जाहेरीका आधारमा बेलबारी–११ का ४० वर्षीय माधव बास्तोला, ४२ वर्षीय नगेन्द्र मिश्र, ६२ वर्षीय मोहन घिमिरे, ३१ वर्षीया संगीता लुइँटेल र पुतली खवासलाई पक्राउ गरिएको एसपी कार्कीको भनाइ छ । उनका अनुसार घटनामा संलग्न भनिएकी एक जना महिला फरार रहेकाले खोजी भइरहेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ । पक्राउ परेकाविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइने प्रहरीले जनाएको छ । ठेकेदार पक्षले भने अदालतले रोकेको भागलाई छाडेर सडकको काम अघि बढाइएको जानकारी प्रहरीलाई दिएको छ । (फोटो क्याप्सन : घटनास्थलमा भेला भएका स्थानीय )

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार