विराटनगर । मोरङमा शनिबार पानीमा डुबेर र रुखबाट लडेर दुई जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जना बालक र अर्का एक जना भुटानी शरणार्थी हुन् ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१८ दामादिकीस्थित जगदीश यादवको खेतमा माटो निकाल्दा बनेको अन्दाजी २० फिट गहिरो खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ । खाल्डोको पानीमा डुबेर विराटनगर–१८ का छोटेलाल शर्माका छोरा १४ वर्षीय राज शर्माको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
उनका अनुसार पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घटनामा सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार दिउँसो १२ः२० बजेतिर बालक सम्पर्कविहीन बनेका थिए । स्थानीयको साथ लिँदै प्रहरीले माछा मार्ने जालको सहायताले पानी जमेको खाल्डोबाट दिउँसो १ः४५ बजेतिर प्रहरीले शव निकालेको थियो । विराटनगरस्थित कोशी अस्पतालमा शवको पोस्टमार्टम गरिएको छ ।
त्यस्तै, रुखबाट लडेर मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा बसोबास गर्दै आएका एक जना भुटानी शरणार्थीको मृत्यु भएको छ । भुटानी शरणार्थी क्याम्पको सेक्टर नम्बर बी २०४८ मा बस्दै आएका ५० वर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको डीएसपी बस्नेतले बताए ।
उनका अनुसार गुरुङ घाँस काट्न भनेर शुक्रबार बिहान ९ बजेतिर जंगल गएका थिए । तर, घर फर्किएर आएनन् । पथरीशनिश्चरेको पशुपति सामुदायिक वनमा रहेको कुर्मीको रुखबाट लडेर मृत्यु भएको अवस्थामा शनिबार बिहान ११ः५० बजेतिर स्थानीयले शव फेला परेर प्रहरीलाई खबर गरेका हुन् ।
डीएसपी बस्नेतका अनुसार घाँस काट्ने क्रममा कुर्मीको रुखबाट लडेर गुरुङको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शवको पोस्टमार्टम उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा गरेर घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए ।
प्रतिक्रिया