धरान / पछिल्लो समय सहकारीमा देखिएको समस्याले विकराल रूप लिदैँ गएको छ । सहकारीमा बचतकर्ताले राखेको रकम फिर्ता दिन नसक्नु र ऋणिहरूले ऋण फिर्ता नगर्दा समस्या बढ्दो छ ।
यसैबीच धरान उपमहानगरपालिका १५ मा रहेको श्रेय बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको रकम हिनामिना गरी फरार भएको घटना बाहिरिएको छ । सहकारीका अध्यक्ष लोकबहादुर खापुङ र सञ्चालक समिति सदस्य चन्द्रबहादुर खापुङ बचतकर्ताको रकम हिनामिना गरी फरार भएका हुन् ।
बचतकर्ता कुबेर गुरुङका अनुसार सहकारीमा बचत गरेको रकम हिनामिना गरी बाबुछोराको सम्बन्ध रहेका लोकबहादुर र चन्द्रबहादुर फरार भएको उनको आरोप छ । उक्त सहकारीमा ६ सय पाँच जना बचतकर्ताको ६९ करोडभन्दा बढी रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बचतकर्ताको रकम हिनामिना गरी बाबुछोरा फरार भएपछि उनीहरूका नाममा रहेको घरजग्गा समेत प्राइम बैंक, वाणिज्य बैंक र नबिल बैंकले लिलामी प्रक्रिया अगाडि बढाएको अर्की बचतकर्ता लिना श्रेष्ठले बताइन्।
उनीहरूविरुद्ध पीडितहरूले इलाका प्रहरी कार्यालय धरान र जिल्ला अदालत सुनसरी मुद्दा दर्ता गराएका छन्। उक्त सहकारीका सञ्चालकद्वयविरुद्ध उजुरी परेपछि प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया