मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालका अनुसार छ जनाको शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिने भएको छ । एन्फाका अनुसार दिवस बानियाँ, प्रियान्स आचार्य, साइमन योञ्जन, अनुपम घलान, विकल रेग्मी र आदिप्य बालमपाकी बेपत्ता भएका थिए ।
दोलखाको भीमेश्वर–६ मा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । चरीकोटस्थित सिमपानीमा गएको पहिरोले राजकुमार भुजेलको घर पुर्दा राजकुमार भुजेल उहाँकी श्रीमती राधिका भुजेल र १५ वर्षीय छोरा सुजन भुजेलको मृत्यु भएको हो ।
कोशी प्रदेशमा दस जनाको मृत्यु भएको छ भने थप नौ जना बेपत्ता छन् । पाँचथरमा मात्र पाँच जनाको मृत्यु र पाँच जना बेपत्ता छन् । धनकुटामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । यस्तै धादिङमा एक र सिन्धुपाल्चोकमा चार जनाको मृत्यु र पाँच जना बेपत्ता छन् ।
सोलुखुम्बुमा दुईको मृत्यु भएको छ, सुनसरीमा एक जनाको मृत्यु र नौ जना बेपत्ता छन् । चितवनमा तीन जना र रुपन्देहीमा दुई जना बेपत्ता छन् ।
हालसम्मकै भीषण वर्षा
राजधानीमा हालसम्मकै भीषण वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा हालसम्मकै बढी (२३९.७ मिलिमिटर) वर्षा मापन भएको छ । यसअघि विसं २०५९ साउनमा १७७ मिलिमिटर वर्षा मापन भएको थियो ।
पछिल्लो २४ घण्टामा देशभरमा सबैभन्दा बढी काभ्रेपलाञ्चोकको खोपासी र पनौतीमा २८१.८ मिलिमिटर वर्षा मापन भएको झाले जानकारी दिनुभयो । यसै गरी बागमती प्रदेशपछि सबैभन्दा बढी लुम्बिनी प्रदेशको पाल्पाको अर्चलेमा २४४.२ मिलिमिटर वर्षा मापन भएको छ । त्यसै गरी गण्डकी प्रदेशको तनहुँ विमलनगरमा २१०.२, कोशी प्रदेशको धनकुटामा २०९, मधेश प्रदेशको बारा कोल्बीमा २०२, कर्णालीको सुर्खेतमा ४९.५ र कैलालीमा ४२ मिलिमिटर वर्षा मापन भएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार बाढीपहिरोबाट काठमाडौँमा ११ जना, ललितपुरमा १६ जना र भक्तपुरमा पाँच जना गरी जम्मा ३२ जनाको मृत्यु छ ।
त्यसै गरी काठमाडौँमा १० जना, ललितपुरमा पाँच जना र भक्तपुरमा दुई जना गरी १७ जना घाइते छन् । बाढीमा परी काठमाडौँमा एक जना र ललितपुरमा ११ जना बेपत्ता छन् । बाढीमा फसेकाको उद्धारका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण वज्राचार्यले जानकारी दिनुभयो ।
निरन्तरको वर्षाका कारण प्राकृतिक विपत्बाट प्रभावित काठमाडौँ उपत्यकासहित देशभर सरकारले खोज तथा उद्धारलाई तदारुकता दिँदै नेपाली सेनाको हेलिकोप्टरसहित ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया