एमाले महाधिवेशन : सकियो मतदान, ९८ प्रतिशत मत खस्यो

विहीबार, ०३ पुस २०८२

काठमाडौँ : नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ।

 बुधवार बिहान ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान ७ बजे सकिएको हो। निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार कुल २ हजार २ सय ६३ मतदातामध्ये २ हजार २ सय २७ मत खसेको छ, जुन ९८.०४ प्रतिशत सहभागिता हो।

भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा मङ्सिर २७ गते उद्घाटन भएको एमालेको महाधिवेशन मङ्सिर २८ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्रका रूपमा प्रवेश गरेको थियो। मङ्सिर २८ गते बिहान ७ः३० बजे सुरु हुने भनिएको बन्दसत्र अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटी बैठकका कारण दिउँसो ३ः३० बजे मात्र सुरु भएको थियो।

नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदान गर्ने कार्यतालिका सार्वजनिक भए पनि पटक–पटक सर्दै अन्ततः मतदान पुस २ गते बिहान ९ बजेदेखि सुरु गरिएको थियो। प्राविधिक कारण देखाउँदै समय सारिँदा मतदान निर्धारित समयभन्दा साढे एक घण्टा ढिलो सुरु भएको थियो।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा छ। यस्तै, पार्टीको शक्तिशाली मानिने महासचिव पदमा शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे चुनावी मैदानमा छन्।

विधानअनुसार पाँच जना निर्वाचित हुने उपाध्यक्ष पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन् भने तीन जना निर्वाचित हुने उपमहासचिव पदमा ६ जनाको प्रतिस्पर्धा छ।

नौ सिट रहेको सचिव पदमा सबैभन्दा बढी आकर्षण देखिएको छ, जहाँ २० जना नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन्। सचिव पदका आकाङ्क्षीमध्ये गोकुल बास्कोटा, महेश बस्नेत, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, अग्नि खरेल, शेरधन राईलगायत रहेका छन्।

यसअघि मङ्सिर २८ गते बसेको १०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले भदौ २०–२२ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशनको निर्णय उल्टाएको थियो। विधान महाधिवेशनले केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने, पदाधिकारी १५ जनामा सीमित गर्ने र स्थायी कमिटी नराख्ने निर्णय गरेको थियो।

अध्यक्ष ओलीले अन्तिम केन्द्रीय कमिटी बैठकमा पदाधिकारी सङ्ख्या बढाउनुपर्ने दबाब रहेको भन्दै नयाँ संरचनाको प्रस्ताव अघि सारेका थिए। सोहीअनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जनाको संरचना तय गरिएको हो। यसपटक वरिष्ठ उपाध्यक्ष पद भने थप गरिएको छैन, जुन अघिल्ला कार्यकालमा रहेको थियो।

निर्वाचन आयोगले मङ्सिर २८ गते आइतबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। सो कार्यतालिकाअनुसार पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने भनिए पनि पटक–पटक संशोधन हुँदै अन्ततः पुस २ गतेका लागि सारिएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार