नेपालका युवाहरूमाथि हिंसा र दमन भइरहेको छ : उपमहासचिव ज्ञवाली

शनिबार, ०१ कार्तिक २०८२

मकवानपुर : नेकपा एमाले मकवानपुर जिल्ला समितिद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्व २०८२ को अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

मकवानपुरको पशुपति मन्दिर सभाहलमा सम्पन्न कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथि थिए ।

कार्यक्रमलाई विस्तारित भेला तथा शुभकामना आदानप्रदान कार्यक्रमका रूपमा सञ्चालन गरिएको थियो । सहभागीहरूलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले पछिल्लो समय देशमा युवाविरुद्ध भइरहेको हिंसा र दमनबारे गम्भीर टिप्पणी गरे ।

उनले भने, ‘युवाहरूलाई मार्ने आदेश नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिएका होइनन्, यो सबै विदेशी एजेन्टहरूले दिएका आदेश हुन् ।’

ज्ञवालीले देशभित्र देखिएका अशान्ति र असन्तोषका मूलमा विदेशी शक्ति र प्रभावकारी समूहहरूको चलखेल रहेको दाबी गरे । उनले युवा आन्दोलनप्रति सहानुभूति जनाउँदै एमाले जनताको आवाज दबाउने पक्षमा नरहेको स्पष्ट पारे ।

कार्यक्रममा जनताको बहुदलीय जनवाद जिन्दावाद नारासहित पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, बुद्धिजीवी तथा स्थानीय समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

जिल्ला कमिटीका पदाधिकारीहरूले सहभागीहरूलाई चाडपर्वको अवसरमा शुभकामना दिँदै आगामी दिनमा पार्टीको नीति, सिद्धान्त र अभियानमा एकताबद्ध भएर लाग्न आह्वान गरे ।

पार्टीका स्थानीय नेताहरूका अनुसार कार्यक्रममा चाडपर्वको उल्लाससँगै हालको राजनीतिक परिस्थितिबारे एमालेको धारणा स्पष्ट पार्न महत्त्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार