ललितपुर : नेपाली काँग्रेसका अग्रज नेता तथा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा ऋषिकेश गौतमको निधनपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठक कात्तिक १३ गतेसम्म स्थगित गरिएको छ।
काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बसेको केन्द्रीय समिति बैठकले पूर्वमन्त्री तथा पूर्वकेन्द्रीय सदस्य गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
८४ वर्षीय गौतमको असोज ३१ गते राति ९ः१५ बजे काठमाडौँको पेप्सीकोलास्थित निजी निवासमा निधन भएको थियो।
नेपाल विद्यार्थी सङ्घका संस्थापक केन्द्रीय सदस्य समेत रहेका गौतम बारा जिल्ला सभापति (वि.सं. २०३६–२०४८), प्रतिनिधिसभा सदस्य (२०४८ र २०५६) तथा कांग्रेस संसदीय दलका पूर्वसचिव रहिसक्नुभएको थियो।
लोकतन्त्र स्थापनाका विभिन्न आन्दोलनमा सक्रिय रहँदै उहाँले पटक–पटक जेल जीवन व्यतीत गर्नुभएको थियो। पार्टी सङ्गठन सुदृढीकरण र लोकतान्त्रिक मूल्य–मान्यता विस्तारमा उहाँको योगदान उल्लेखनीय रहेको काँग्रेसले जनाएको छ।
पार्टीले स्व. गौतमप्रति श्रद्धाञ्जली अर्पण गर्दै तीन दिनसम्म (कात्तिक १, २ र ३ गते) केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।
साथै, कात्तिक २ गते सबै कार्यालय बन्द रहने, स्वर्गारोहणको १३ दिनसम्म शोक पुस्तिका राख्ने र १३औँ दिन सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय समेत गरिएको छ।
प्रतिक्रिया