स्वास्थ्यमन्त्री पाठक सुटुक्क फार्मेसीमा पुगेपछि...

शनिबार, ०१ कार्तिक २०८२

बागलुङ  : गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पतालको फार्मेसीमा आज अकस्मात् अनुगमनका लागि पुगेपछि अस्पताल प्रशासन र कर्मचारीहरूबीच हलचल मच्चिएको छ। बिरामीहरूले औषधि नपाएको गुनासो बढेपछि मन्त्री पाठकले पोखराबाटै अस्पताल प्रशासनलाई जानकारी नगराई ‘सुटुक्क’ फार्मेसीमा पुगेका थिए।

हालै विभिन्न सञ्चारमाध्यममा अस्पतालको फार्मेसीमा स्वास्थ्य बिमामा आबद्ध बिरामीले नियमित रूपमा सेवन गर्नुपर्ने थाइराइड, उच्च रक्तचाप, सुगर र मुटु सम्बन्धी औषधि नपाएको समाचार सार्वजनिक भएको थियो। यही गुनासोका आधारमा मन्त्री पाठक आज बिहान अस्पताल पुगेका हुन्।

फार्मेसीमा पुग्दा मन्त्रीलाई सुरुमा कर्मचारीहरूले चिन्न सकेनन्। पछि उनले आफ्नो परिचय दिँदै औषधि आपूर्तिमा ढिलासुस्ती किन भइरहेको भनी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र फार्मेसी इञ्चार्जलाई सोधपुछ गरे। मन्त्री पाठकले प्रदेश सरकारले औषधि खरिदका लागि रकम पठाइसकेकाले किन समयमै औषधि खरिद नगरेको भन्दै जिम्मेवार अधिकारीलाई स्पष्टीकरण मागे।

बिरामीहरूले मन्त्रीसमक्ष अस्पतालका केही स्वास्थ्यकर्मी र फार्मेसीका कर्मचारीले अस्पताल नजिकै आफ्नै निजी पसल सञ्चालन गर्ने र जानाजानी अस्पतालमा औषधि अभाव बनाइराख्ने गरेको आरोप लगाए। यसै विषयमा मन्त्री पाठकले स्वास्थ्यकर्मीहरूलाई “निजी फार्मेसी रोज्ने कि अस्पतालको जागिर गर्ने” भन्ने कठोर चेतावनी दिए।

अनुगमनका क्रममा मन्त्री पाठकले अस्पतालमा कार्यरत तर बाहिर निजी फार्मेसी वा प्रयोगशाला चलाउने कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिँदै तत्कालै औषधि आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिए। उनले भने, “अस्पतालमा जागिर गरेर बिरामीलाई बाहिर पठाउने अभ्यास गलत हो। प्रदेश सरकारले औषधि खरिदका लागि रकम पठाइसकेको छ, अब ढिलाइ हुनु हुँदैन। मन्त्रालयले दुईतिर काम गर्ने कर्मचारीमाथि कारबाही गर्न परिपत्र जारी गर्छ।”

धौलागिरि प्रादेशिक अस्पतालमा औषधि आपूर्ति समयमै नहुँदा बिरामीहरू महँगो मूल्य तिरेर निजी पसलबाट औषधि खरिद गर्न बाध्य भएका छन्। मन्त्री पाठकको आकस्मिक अनुगमनपछि अस्पताल प्रशासनले तत्काल औषधि खरिद प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार