घरमा फूल रोपौं, उज्यालो बनाऔं भन्ने सोच बढेको छ : उषा खड्का

शनिबार, ०१ कार्तिक २०८२

काठमाडौं । काठमाडौंको अनामनगर नजिक देवीनगरस्थित नेचर फ्लाई नर्सरीकी संचालिका उषा खड्कालाई यतिबेला भ्याइनभ्याइ छ। तिहार फूलको मौसम भएकाले उनलाई विभिन्न प्रजातिका फूल बेच्न हतारो उस्तै छ। 

सात वर्षअघिदेखि सञ्चालनमा आएको उनको नर्सरी व्यवसाय पछिल्ला बर्षमा प्रभावकारी बन्दै गएको छ। खड्काका अनुसार सुरुका वर्षहरूमा सामान्य रूपमा चलेको व्यापार अहिले स्थिर रूपमा अघि बढिरहेको छ।

पछिल्ला केही समयको बाढीपहिरो र आन्दोलनले भने अलिकति असर पारेको उनले बताइन्। ‘तर अहिले दशैँ–तिहारको माहोलमा फूलहरूको माग फेरि बढ्दै गएको छ’ उनी भन्छिन्।

हाल नर्सरीमा सयपत्री, मखमली र गोदावरी फूलको बढी माग छ। ‘अहिलेको सिजनमै यी फूलहरूको डिमान्ड निकै बढेको छ,’ खड्काले बताइन्। दशैँ र तिहारमा पूजा, माला र घर सजावटका लागि यी फूलको प्रयोग धेरै हुने भएकाले माग उच्च रहेको छ।

फूलसँगै अहिले घरभित्र सजावटका लागि इन्डोर प्लान्टहरू पनि उत्तिकै लोकप्रिय भएका छन्। ‘अब त इन्टेरियर डिजाइनको कुरा पनि आउँछ नि, त्यसैले इन्डोर प्लान्टको माग बढेको छ,’ उनी भन्छिन्। उनका अनुसार अहिले स्नेक प्लान्ट, एरिका पाल्म र अन्य हावालाई स्वच्छ राख्ने बिरुवाहरू बढी बिक्री भइरहेका छन। ‘यी प्लान्टहरूले वातावरण सफा गर्छन्, घरमा शुभ संकेत ल्याउँछन् र हेर्दा मन पनि आनन्दित हुन्छ,’ खड्काले थपिन्।

उनका अनुसार मानिसहरू अहिले केवल घर सुन्दर बनाउने मात्र होइन, स्वस्थ्य र स्वच्छ हावा पाउने चाहनामा पनि छन्। ‘नासाले समेत इन्डोर प्लान्टले हावाको टक्सिन घटाउँछ भनेको छ। त्यसैले मान्छेहरूलाई अब यसको फाइदा बुझिन थालेको छ,’ उनी भन्छिन्।

नेचर फ्लाई नर्सरीमा सानोदेखि ठुला विभिन्न साइजका फूलहरू उपलब्ध छन्। ‘हाम्रोमा फुलको मूल्य सानोदेखि ठुलो पोलीसम्म फरक पर्छ,’ उनी बताउँछिन्। ‘जस्तो गोदावरी ५० रुपैयाँदेखि ५०० सम्म, सयपत्री ४० देखि २५० सम्म साइज हेरिहेरी मूल्य पर्छ।’

फूलहरूको बढ्दो मागका कारण कतिपय फुलहरू बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको उनले बताइन्। ‘यहाँको उत्पादनले मात्र धान्दैन, त्यसैले इम्पोर्ट गर्नुपर्ने हुन्छ’ उनी भन्छिन्, ‘बाहिरबाट ल्याइएका इम्पोर्टेड प्लान्टहरू महँगो भए पनि राम्रो र आकर्षक हुन्छन्, त्यसैले ग्राहक तिनीहरू नै रोज्छन्।’

फूलको व्यापारमा उनलाई भविष्य उज्वल देख्छिन्। ‘व्यापार बढेकै हो, किनकि सबैलाई अब घरमा फूल रोपौं, उज्यालो बनाऔँ भन्ने सोच बढेको छ,’ उनी भन्छिन्। अहिले विशेष गरी फूलभन्दा पनि इन्डोर प्लान्टको डिमान्ड बढ्दै गएको उनको अनुभव छ।

ग्राहकलाई आकर्षित गर्न नर्सरीले विभिन्न अफरहरू पनि ल्याएको छ। ‘हामीले अहिले १० देखि २० प्रतिशतसम्मको डिस्काउन्ट दिएका छौँ। सयपत्रीमा १० प्रतिशत छुट छ,’ खड्काले बताइन्। साथै, फलफूलका बिरुवा खरिद गर्दा दुई केजी मल फ्री दिने योजनासमेत रहेको उनले बताइन्।

अहिलेको सिजनमा सयपत्रीलाई सबैभन्दा बढी प्राथमिकता दिइन्छ। ‘सयपत्री अहिले नम्बर वानमा छ, त्यसपछि गोदावरी’ उनी बताउँछिन्। ‘मखमली चाहिँ घरमा रोप्नभन्दा माला बनाउनकै लागि बढी प्रयोग हुन्छ।’

फूलका दुई प्रकार हुन्छन्, सिजनल र पेनियल (बहुवर्षीय) ‘सिजनल फूल सस्तो हुन्छ, तर एकचोटि मात्र फुल्छ’ उनले स्पष्ट पारिन्। ‘पेनियल फूल भने वर्षौंसम्म फुलिरहन्छ। जस्तो हेबिस्कस वा एजोलिया, यी एकचोटि लगाएपछि वर्षौँभर फुल्छन्।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार