पाँचखपनका थापा सर्वाधिक धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित

विहीबार, ०३ पुस २०८२
सांकेतिक फाईल

खाँदबारी :  संखुवासभाको पाँचखपन नगरपालिका–६ का किसान भीमकुमार थापा धान उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल गरेबापत सम्मानित भएका छन् । चालु आर्थिक वर्षमा ६० मुरीभन्दा बढी धान उत्पादन गर्न सफल थापा नगरपालिकाभित्र सबैभन्दा बढी उत्पादन गर्ने किसानका रूपमा सम्मानित भएका हुन् ।

पाँचखपन–६ मा आज आयोजित कार्यक्रममा वडाध्यक्ष विष्णु श्रेष्ठले थापालाई नगद ३० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले किसानलाई सहज रूपमा खेती गर्न सक्ने वातावरण सिर्जना गर्दै उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम लागू गरिएको जानकारी दिए । 

किसानको मेहनतको सम्मानबिनाको कृषि विकास दिगो हुन नसक्ने उल्लेख गर्दै उनले यस्ता सम्मानले अन्य किसानलाई पनि व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे । 

सम्मानित किसान थापाले परम्परागत खेती प्रणालीलाई सुधार गरी आधुनिक प्रविधि, उन्नत जातका बीउ, समयमा मलखादको प्रयोग र सिँचाइ व्यवस्थापनका कारण उत्पादन बढाउन सफल भएको बताए । सफलतामा परिवारको साथ, स्थानीय सरकारको सहयोग र निरन्तर परिश्रम मुख्य कारण रहेको उनको भनाइ छ ।
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार