काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सले यही पुस ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ‘ट्रफी सेलिब्रेसन टुर’ सुरु गर्ने भएको छ।
लुम्बिनी लायन्सले सार्वजनिक गरेको तालिकाअनुसार बाँके र बर्दियाबाट सुरु हुने टुर पुस १५ गते रुपन्देहीमा पुगेर सम्पन्न हुनेछ। टुरका क्रममा विभिन्न जिल्लाका मुख्य सहर र धार्मिक तथा ऐतिहासिक स्थलहरूमा ट्रफी प्रदर्शन गरिने जनाइएको छ।
तालिकाअनुसार पुस ५ गते नेपालगञ्जको बागेश्वरी मन्दिरदेखि गुलेरियासम्म तथा भन्सागढीदेखि कोहलपुरसम्म ट्रफी प्रदर्शन हुनेछ। पुस ६ गते दाङको तुल्सिपुर–घोराही, पुस ७ गते रुकुमको रुकुमकोट–खलङ्गा, पुस ८ गते रोल्पाको लिवाङ–सुलिचौर र पुस ९ गते प्युठानको भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्म टुर आयोजना गरिनेछ।
यसैगरी पुस १० गते विजुवार बरुङ्लादेखि चकचके, दरभाङ हुँदै भालुवाङसम्म, पुस ११ गते कपिलवस्तुको चन्द्रौटा, कृष्णनगर, तौलिहवा र गोरुसिङ्गे, पुस १२ गते अर्घाखाँचीको सुपादेउराली मन्दिरदेखि सन्धिखर्कसम्म, पुस १३ गते गुल्मीको तम्घास र पुस १४ गते पाल्पाको तानसेन बजारमा ट्रफी सेलिब्रेसन हुनेछ।
पुस १५ गते नवलपरासीको बर्दघाट–सुनवल तथा सोही दिन रुपन्देहीको भैरहवादेखि लुम्बिनीसम्म टुर आयोजना गरिनेछ। टोलीका अनुसार पुस १६ गते बुधबार बुटवलको सिद्धबाबा मन्दिरदेखि ट्राफिक चोकसम्म ट्रफी टुरसँगै मेगा कन्सर्टसमेत आयोजना गरिनेछ।
एनपिएलको दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। लुम्बिनीले त्यसअघि दोस्रो क्वालिफायरमा विराटनगर किङ्स र एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो।
प्रतिक्रिया