खोटाङ : आफ्नै विद्यार्थीलाई विद्यालयमै पटक–पटक बलात्कार गरेको अभियोगमा खोटाङका एक प्रधानाध्यापक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ऐसेलुखर्क गाउँपालिका–१ राखा बाङ्देलस्थित एक विद्यालयका प्रधानाध्यापक रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिए ।
१३ वर्षीया छात्रामाथि गरिएको यो घटनाले गाउँभर आक्रोश फैलिएको छ । असोज २२ गते पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ।
डिएसपी बुढाथोकीका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल खोटाङमा गराइएको छ र उनलाई परिवारकै संरक्षणमा पठाइएको छ । “घटनाको विस्तृत अनुसन्धान भइरहेको छ,” उनले भने ।
स्रोतका अनुसार आर्थिक अवस्था कमजोर भएकी ती बालिका प्रधानाध्यापककै आफन्तकोमा बस्दै आएकी थिइन् । उनले बयानमा विद्यालयमै दुईपटक बलात्कार भएको उल्लेख गरेकी छन् । आफन्तले यही आधारमा जाहेरी दिएका हुन् ।
स्थानीयवासीले विद्यालयलाई ‘सिकाइको मन्दिर’ मानिँदै आएको समयमा यस्तो जघन्य अपराधले शिक्षक नै कलङ्कित भएको बताएका छन् । प्रहरीले भने आरोपितमाथि बालिका बलात्कार सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया