तितर-वित्तर भए लिम्बुवान पहिचानबादी, पलायन हुँदै नेता कार्यकर्ता

विहीबार, २५ मंसिर २०८२

पाँचथर । लिम्बुवान राज्यको माग राख्नेहरुलाई संगठित गर्ने र लिम्बुवानको मुद्धालाई सशक्त रुपमा उठाउँने जिल्लाको रुपमा केही वर्ष अघि सम्म प्रख्याति कमाएको पाँचथर जिल्ला पहिचानको राजनिति गर्नेहरुले विर्सन नहुने जिल्ला हो । वि.सं.२०६२–०६३ को जनआन्दोलन पश्चात अरुण पुर्वका ९ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गर्न माग गर्दै आन्दोलन गरेका दल र दबाब समूह पाँचथरमै भेला भएर रणनीति बनाउने गर्थे ।

पहिचानको मुद्धा उठाउनेहरुलाई संगठित गर्ने कार्यमा ठुलो योगदान गरेको संघीय लिम्बुवान राज्य परिषद पहिलो संविधान सभाको निर्वाचन सम्म आइपुग्दा २ चिरा भइसकेको थियो । सञ्जुहाङ पालुङवा नेतृत्वमा रहँदा असहमति राख्दै बाहिरिएका कुमार लिङदेन र त्यपछि छुट्टै दबाव समूह –(लिम्बुवान क्रान्तिकारी)गठन गरेका मिसेकहाङ थाम्सुहाङ बेग्ला बेग्लै समूहमा गतिविधि गरिरदा पनि उनीहरुको मुद्वा साझा थियो ।

२०६४ र २०७० सालको निर्वाचनमा यी समूह कहिले निर्वाचनमा जाने त कहिले बहिष्कार गर्न उद्वत रहे । २०७४ सालको निर्वाचनमा साविक १ नम्बर प्रदेशबाट कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान राज्य परिषदले कोशी प्रदेश सभामा समानुपातिक तर्फबाट एकसिट जितेको पनि थियो । यद्वपी २०७९ सालसम्म आइपुग्दा लिम्बुवान जन्य दलले प्रत्यक्षतर्फ एकसिट पनि जितेनन । फलस्वरुप नेता कार्यकर्ता तितर वितर हुन थाले ।

कुनैबेला मञ्च सम्वद्व संघीय लिम्बुवान राज्य परिषदको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्ष सम्म बनेका पाँचथरका लावाहाङ चेम्जोङ पछिल्लो पटक हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टिमा सकृय छन ।

लिम्वुवान राज्य परिषदको सचिव हुँदै अध्यक्ष सम्म बनेका कमलराज नेम्वाङ अहिले जनता समाजबादी पार्टिमा छन भने लिम्वुवान र लोकतान्त्रिक राष्ट्रिय मञ्चमा लामो समय काम गरेका दिलेन्द्र सुव्वा र कमल हाङसरुम्वा लगायतका नेता कार्यकर्ता जनता समाजवादी पार्टिमै छन । तर विचार र उद्धेश्य एउटै भएपनि फुट्ने क्रम जारी रहेकाले लिम्बूवान राज्य प्राप्ती तत्काल सम्भव नभएको निष्कर्ष निकाल्दै आफुले दल परित्याग गरेको नेता लावाहाङ चेम्जोङ बताँउछन ।

साविक एक नम्बर प्रदेशलाई कोशी प्रदेश नामाकरण गरेपछि पहिचानबादी मोर्चाका नामबाट आन्दोलन गरेका नेता कार्यकर्ताले पनि लिम्बुवानजन्य संगठन छोड्न थालेका छन । अधिकांँसले समयसँगै राजनैतिक परिवेश परिवर्तन भएको भन्दै आफ्नो थातथलो छोडेको बताएका छन ।

धेरैजसो लिम्वुवान,पहिचानवादी मोर्चा र जनता समाजवादी पार्टिका अधिकांस कार्यकर्ता अन्यौलमा छन । पहिचानबादी मोर्चाका संयोजक तथा २०८० सालको उप निर्वाचनमा इलाम क्षेत्र नम्वर २ बाट चुनाव लडेका डकेन्द्रसिंह थेगिम कुलमान घिसिङ नेतृत्को उज्यालो पार्टि नेपालमा प्रवेश गरिसकेका छन ।

यस्तै जनता समाजवादी पार्टी र लिम्वुवानका विभिन्न घटकमा रहेका नेता कार्यकर्ता केहि  कांग्रेस,केहि एमाले,केहि माओवादी त केहि नयाँ दलहरुमा जाने क्रम निरन्तर जारी रहेको  छ ।

पुराना दलमा रहेका नेता कार्यकर्ताले खासै पार्टी परिवर्तन नगरेपनि लिम्बुवान,पहिचानबादी मोर्चा र पहिचान पक्षधरहरु भने तितर वितर हुनका साथै नेता पिच्छे जस्तो नयाँ दल दर्ता भएकाले अझैपनि लिम्बुवान राज्य सुनिश्चितताको आधार नबनेको उनीहरुले वताउँन थालेका छन् ।

आफ्नो मुद्वा स्थापित नहुने भएपछि धेरैजसो नेता कार्यकर्ता अस्थिर बनेको पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापनरत पहिचानबादी नेता डाक्टर मधुराज केरुङ टिप्पणी गर्छन ।

पाँचथर सदरमुकाम फिदिममा २०४४ सालमा निर्माण गरिएको गेट पछिल्लो समयमा लिम्बुवान क्षेत्रको पहिचानको आधार स्तम्भ जस्तो वनाइएको थियो ।

WhatsApp Image 2025-12-11 at 10.13.11 AM (3)

२०६२।०६३ को जन आन्दोलन पश्चात पहिचान पक्षधर नेता कार्यकर्ताले लिम्बुवान गेट नामाकरण गरेको यो गेट अहिले भत्काइएको छ । २०८० सालमा सडक विस्तार गर्दा यो गेट भत्काइयो । लिम्बुवान गेट भत्किए झै पहिचानको मुद्धा उठाउदै संगठित भएका दलहरु तथा नेताहरु विचको एकता पनि भत्किएर नेता कार्यकर्ताहरु अन्य दल तर्फ पलायन हुन थालेका छन ।

प्रतिक्रिया

लक्ष्मी गौतम
लेखकको बारेमा
लक्ष्मी गौतम
जिल्ला संवाददाता

लेखक ३ दशक अघिदेखि पाँचथर जिल्लामा रहेर सक्रिय रूपमा कलम चलाउँदै आउनुभएको छ ।

सम्बन्धित समाचार