जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार भएका ८ कैदी पक्राउ

मंगलबार, २७ माघ २०८२

धनकुटा : जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका विभिन्न मुद्दाका आठ जना कैदीबन्दीलाई धनकुटा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक (एसपी) सरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ परेकाहरू कर्तव्य ज्यान, अङ्गभङ्ग, जबरजस्ती करणी, चोरी तथा लागुऔषध गाँजा सम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकिएका कैदीबन्दी हुन्।

एसपी थापा क्षेत्रीले दिएको जानकारीअनुसार सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ का ३० वर्षीय युवराज राईलाई धनकुटाको साँगुरीगढी–६ भेडेटार चोकबाट पक्राउ गरिएको हो। उनी कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ६ महिना कैद सजाय भोगिरहेका थिए।

त्यस्तै, चौबिसे गाउँपालिका–३ का ३४ वर्षीय सिजन तामाङलाई अङ्गभङ्ग मुद्दामा ३० महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। उनलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लागुऔषध गाँजा मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सहिदभूमि गाउँपालिका–२ का २१ वर्षीय सुरेश शिवा, धनकुटा नगरपालिका–६ का २६ वर्षीय अनिल सहनी, सहिदभूमि–७ का सङ्गम माझी र साँगुरीगढी–१ का ३३ वर्षीय बुद्धराज लिम्बुलाई पनि फरार अवस्थाबाट पक्राउ गरी पुनः कारागार चलान गरिएको छ।

यसैगरी, कर्तव्य ज्यान तथा जबरजस्ती चोरी मुद्दामा २० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएका चौबिसे गाउँपालिका–२ धारापानीका ४६ वर्षीय रमेश माङ्मी मगर र कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका सुनसरीको धरान उपमहानगरपालिका–२० का ३२ वर्षीय सागर राईलाई पनि लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ। एसपी  थापा क्षेत्रीले फरार कैदीबन्दीको खोजतलास गरी नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर कारागार बुझाइएको जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार