गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

विहीबार, २५ मंसिर २०८२
पानीघट्टा

भोजपुर :  परम्परागत रुपमा गाउँघरमा कुटानीपिसानी कार्यका लागि प्रयोग गरिदै आएको  पानीघट्टा चलाउने प्रचलन भोजपुरमा क्रमशः हराउँदै गएको छ । 

ओरालोमा पानीलाई कुलोमार्फत झारेर पङ्खा घुमाइ ढुङ्गाको जातोको साहाराले मकै, गहुँ, कोदो, फापर, जौंलगायत अन्न पिस्ने पानीघट्टा विगतमा ग्रामीण क्षेत्रको प्रमुख कुटानीपिसानी साधन थियो तर पछिल्लो समयमा विद्युत , डिजेल ,पेट्रोल ,सौर्य उर्जा आदिबाट चल्ने मिलहरु प्रयोगमा आउने थालेपछि पानीघट्टा चलाउने प्रचलन हराउदै गएको हो । 
गाउँघरका बासिन्दाले कुटानी–पिसानीका लागि सहज, सस्तो र सरल विकल्पका रूपमा पानीघट्टालाई अपनाउने गर्थे । तर, अहिले पानीघट्टा चलाउने परम्परा हराउँदै गएको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ५ का बेनीबहादुर विष्ट बताउछन ्।


पानीघट्टामा कुटानीसिपानी गर्दा विद्युतीय तथा डिजेल, पेट्रोलबाट सञ्चालन हुने मिल भन्दा सस्तो पर्ने सोही ठाउँमा पानीघट्टा सञ्चालन गर्दै आएका हरिबहादुर लम्सालले बताउछन ।  पछिल्लो समय पानीघट्टा चलाउने प्रचलन लोपहुँदै गएको छ । आफूले भने परम्परागत सामग्रीको संरक्षण गर्ने लक्ष्यले पानीघट्टा चलाउँदै आएको समेत लम्साले जानकारी गराए ।  “पानीघट्टामा पिसिएको अन्न स्वादिलो हुन्छ”, लम्सालले थपे “आधुनिक प्रविधिको विकाससँगै यस्ता परम्परागत सामग्री हराउँदै गइरहेका छन्, मैले भने परम्परा जोगाउन निरन्तर चलाइरहेको छु ।” उनले पानी प्रशस्त भएको समयमा पानीघट्टाले दिनमा छ देखि आठ मुरीसम्म अन्न पिस्न सक्ने  जानकारी गराए । 

संरक्षण अभावमा पानीघट्टाजस्ता परम्परागत साधन ओझेलमा पर्न थालेका हुन् । स्थानीयका अनुसार पानीघट्टामा पिसिएको अन्न स्वादिलो, ताजा र स्वास्थ्यका लागि उत्तम हुने गर्दछ । प्राकृतिक तरिकाले पिसिने भएकाले अन्नको पोषण र स्वाद जस्ताको त्यस्तै रहने उनीहरुको वुझाई रहेको छ । तर, पछिल्लो पुस्ताले यस्तो परम्परागत साधनप्रति कम चासो देखाउँदै आएको छन् । परम्परागत सीप र पहिचान जोगाउन पानीघट्टाको संरक्षण गर्न आवश्यक रहेको स्थानीयवासीले जोड दिएका छन् । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार