एजेन्सी : संयुक्त राष्ट्रसङ्घले अमेरिकाबाट अपेक्षित रकम नआउँदा आर्थिक सङ्कटको सामना गरिरहेको छ । महासचिव एन्टोनियो गुटेरेसले सबै सदस्य देशले समयमै शुल्क तिर्न नसकेमा तथा सङ्गठनका वित्तीय नियमहरू सुधार नभएमा संयुक्त राष्ट्रसङ्घ छिट्टै गम्भीर आर्थिक सङ्कटमा पर्न सक्ने चेतावनी दोहोर्याउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार, अमेरिकाले नियमित सञ्चालन बजेटका लागि झन्डै २ अर्ब डलर तिर्न बाँकी छ, जसमा यस वर्षको लागि ७ करोड ६७ लाख डलर पनि समावेश छ । साथै, शान्ति स्थापना कार्यका लागि छुट्टै बजेटमा पनि ठूलो रकम बाँकी छ ।
अमेरिकी प्रतिनिधित्वको अनुसार आउँदो केही हप्ताभित्र अमेरिकी प्रशासनले आफ्नो बाँकी रकमको आंशिक भुक्तानी गर्ने योजना बनाइरहेको छ । यस विषयमा महासचिव गुटेरेस र अमेरिकी अधिकारीहरूबीच निरन्तर सम्पर्क भइरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
महासचिव गुटेरेसका अनुसार यदी आवश्यक रकम समयमै प्राप्त भएन भने, यस वर्ष जुलाईसम्म नियमित बजेट सकिन सक्ने र यसले सङ्गठनका गतिविधिमा गम्भीर असर पार्न सक्ने सम्भावना छ ।
संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले नियमित बजेटतर्फको अधिकांश बक्यौता अमेरिकाकै हिस्सामा रहेको बताएका छन् । अहिलेसम्म झन्डै ६० देशले तोकिएको समयभित्र आफ्नो वार्षिक शुल्क भुक्तानी गरिसकेका छन् ।
प्रतिक्रिया