निरज चौधरीको हत्या आरोपमा लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका भाइ पक्राउ

विहीबार, २५ मंसिर २०८२

धनगढी । दाङको तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षीय निरज चौधरी को बर्दिया राजापुरमा भएको हत्या आरोपमा लुम्बिनीका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ महावीर चौधरी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले बुधबार बिहान कैलारी गाउँपालिका–५ को बैजपुरबाट तुलसीपुर–५ कै ५१ वर्षीय महावीर चौधरी लाई पक्राउ गरेको हो। बर्दियाको राजापुरमा रहेको ‘हमार थारू रेष्टुरेन्ट’ मा निरज चौधरीमाथि गोली प्रहार गरी हत्या गरिएको थियो। घटनापछि घाइते अवस्थामा निरजलाई नेपालगन्ज पुर्‍याएपछि प्रहरीलाई जानकारी भएको थियो। घटनालगत्तै घटनास्थलमा रहेका महावीर चौधरी मोटरसाइकल चढेर कैलालीतर्फ फरार भएका थिए।

इलाका प्रहरी कार्यालय राजापुर, बर्दियाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार कैलाली प्रहरीको समन्वयमा चौधरीलाई हसुलियाबाट पक्राउ गरिएको हो। प्रहरीले महावीरको साथबाट पेस्तोलसमेत बरामद गरिएको जनाएको छ । उक्त पेस्तोल हत्यामा प्रयोग भए/नभएको पुष्टि हुन बाँकी छ।

यस घटनामा रेष्टुरेन्टका सञ्चालक रामकुमारी चौधरीका श्रीमान् बुद्धिप्रसाद ले सञ्चालन गर्ने पोल्टी फार्ममा काम गर्दै आएका निरजको हत्या भएको हो। प्रहरीले यसअघि नै रेष्टुरेन्ट सञ्चालक श्रीमान्–श्रीमती र उनीहरूका छोरा राहुल चौधरीलाई पक्राउ गरिसकेको छ। कैलालीबाट पक्राउ परेका महावीर चौधरी निरजकै मोटरसाइकल लिएर फरार भएको प्रहरीले जनाएको छ। उनले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार