काठमाडौँ : नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रा.लि. का सञ्चालक अध्यक्ष सुना सुवेदीलाई कागजात किर्तेसम्बन्धी मुद्दामा पक्राउ गरेको छ ।
गृह मन्त्रालयअन्तर्गत केन्द्रीय अनुसन्धान ब्यूरोले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, सुवेदीलाई लिखतसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।
भन्सारमा किर्ते सिफारिस पत्र प्रयोग
विज्ञप्तिमा उल्लेख भएअनुसार, पशु सेवा विभाग अन्तर्गतको प्राविधिक समितिले गरेको निर्णयअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सलाई पशु आहारा, प्रोवायोटिक्स, भिटामिन, मिनरल, टक्सिन वाइण्डर आदि आयात गर्न सिफारिस गरेको थियो ।
तर, उक्त कम्पनीले सो सिफारिसपत्र किर्ते गरी नेपालमा दर्ता नभएका औषधिहरू — Flocure 10%, Florlutin 45%, Binodox, Levoflox BH, Piperazine आदि — का विवरणसहित विभिन्न भन्सार कार्यालयमा पेश गरी आयात गरेको देखिएको CIB ले जनाएको छ ।
यस विषयमा लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि सुवेदीलाई पक्राउ गरिएको हो । प्रहरी टोलीले उनलाई २०८२ असोज २४ गते काठमाडौं महानगरपालिका–३१, शंखमुलस्थित घरबाट नियन्त्रणमा लिएको जनाएको छ ।
सुवेदीको स्थायी ठेगाना सर्लाही जिल्ला, ईश्वरपुर गाउँपालिका–४ रहेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार, सुवेदीमाथि थप अनुसन्धान कार्य भइरहेको छ । सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै अनुसन्धान प्रक्रिया अघि बढेको जानकारी दिएका छन् ।
प्रतिक्रिया