झापा : जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ५५ राउण्ड गोली फेला परेका छन् । तर, लुटिएका हतियार भने अझै फिर्ता आइसकेका छैनन्, जसले सुरक्षा चुनौती झनै बढाएको स्थानीय सुरक्षास्रोतको भनाइ छ ।
इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ती गोली कमल गाउँपालिका–७ रंगपुर निवासी ५५ वर्षीय गंगाप्रसाद पाण्डेले फेला पारेका हुन् । पाण्डेले केराको पात काट्ने क्रममा सेतो बोरामा गोली देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको टोली घटनास्थल पुगेर एसएलआरको ७.६२ एमएमका ५५ राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । ती गोली अहिले इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
जेनजी आन्दोलनका क्रममा झापाका विभिन्न प्रहरी कार्यालयबाट २४ थान हतियार, ५ हजार ६ सय ९० वटा गोली र १८० सेल अश्रुग्यास लुटिएको थियो । तीमध्ये केही मात्र फिर्ता भएका छन् भने धेरै हतियार अझै हराइरहेका छन् ।
प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका लामो हतियार (एसएलआरलगायत) १४ थान र त्यसका ४ हजारभन्दा बढी गोली, सानो हतियार (पेस्तोल/रिभल्वर) २ थान र ४० राउण्ड गोली, सर्टगन/ग्यासगन ४ थान र १८० सेल अश्रुग्यास अझै फिर्ता भएका छैनन् ।
त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएका लामो नाल (एसएलआर) १ थान, त्यसका १५०० भन्दा बढी गोली, सानो हतियार ३ थान र १५० राउण्डभन्दा बढी गोली पनि फिर्ता नभएको प्रहरीले जनाएको छ ।
मानवअधिकारवादीहरुको रोहवरमा आन्दोलनकारीहरूले फिर्ता गरेका ८५ थान हतियार चारआलीस्थित अरिदमण गणमार्फत प्रहरीलाई जिम्मा लगाइएको थियो । तर, बाँकी हतियार अझै समुदायमै रहेका कारण स्थानीय सुरक्षा अवस्था संवेदनशील बनेको प्रहरीको मूल्याङ्कन छ ।
प्रहरीले बारम्बार हतियार बुझाउन आग्रह गरे पनि हालसम्म आन्दोलनकारी वा समुदायका तर्फबाट तात्कालिक पहल नदेखिएको बताइएको छ । जेनजी आन्दोलनपछि प्रहरीहरू पुनः आफ्नो काममा फर्किए पनि भवन पुनर्निर्माण, सवारीसाधन र उपकरण अभावका कारण काममा कठिनाइ भइरहेको छ ।
प्रहरी स्रोतका अनुसार, “सुरक्षाका लागि आवश्यक साधन अभाव र लुटिएका हतियार अझै फिर्ता नआएकाले समुदायमा जोखिम र असुरक्षा कायम छ।”
प्रतिक्रिया