कामधेनु सहकारी विवाद चुलिँदैः सेयर सदस्यता खारेजीमाथि रजिस्ट्रार कार्यालयको अल्टिमेटम

बुधबार, ०२ पुस २०८२

इटहरी : इटहरी उपमहानगरपालिका–१ मा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थामा देखिएको आन्तरिक विवादमा प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले चासो देखाएको छ । 

सेयर सदस्यता खारेज गरिएको विषयमा उजुरी परेपछि कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय, इनरुवाले संस्थालाई सात दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो ।

संस्थाका पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारी र सेयर सदस्य मनोज दाहाललाई सेयर सदस्यताबाट निष्कासन तथा कर्मचारी तेजबहादुर सुवेदीलाई समेत हटाउने निर्णय गरेपछि विवाद चर्किएको थियो । 

रजिस्ट्रार कार्यालयले पठाएको पत्रमा बिना कारण सेयर सदस्यता खारेज गरिएको, भ्रामक तथा तथ्यहीन समाचार सम्प्रेषणको आरोप लगाउँदै बदनियतपूर्वक कारबाही गरिएको भनी उजुरी परेको उल्लेख छ ।

rajistar

पत्रमा भनिएको छ, ‘निजहरूलाई सेयर सदस्यताबाट हटाउँदा अपनाइएका प्रक्रिया, संस्थागत निर्णय र सोको औचित्य खुल्ने गरी प्रमाणसहित सात दिनभित्र कार्यालयमा जानकारी गराउनुहुन अनुरोध छ ।’

कामधेनुको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारी र दाहाललाई ‘भ्रामक र तथ्यहीन समाचार सम्प्रेषण गरेको’ आरोपमा सेयर सदस्यताबाट हटाउने निर्णय गरेको थियो ।

उक्त निर्णयप्रति आपत्ति जनाउँदै उनीहरूले मंसिर २४ गते प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा निवेदन समेत दिएका थिए । सोही निवेदनमाथि अध्ययन गरी कार्यालयले मंगलबार संस्थालाई जवाफ पेस गर्न निर्देशन दिएको हो ।

संस्थाका कर्मचारी प्रेम मिश्रको आत्महत्या प्रकरणसँग जोडेर दुबै पक्षमा आरोप प्रत्यारोपमा उत्रिएको थियो । मिश्रले बजार प्रमुख रञ्जित झा र बजार प्रतिनिधि शेरबहादुर खड्काको नाम उल्लेख गर्दै ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका थिए ।

घटनापछि संस्थाभित्र आन्तरिक तनाव बढेको बताइन्छ । पीडित परिवारले संस्थाबाट निरन्तर दबाब र मानसिक यातना दिइएकै कारण मिश्रले आत्महत्या गर्न बाध्य भएको दाबी गर्दै आएका छन् । मिश्रको निधनपछि समवेदना दिन झापा पुगेका अध्यक्ष ढकालसहितका कर्मचारीहरू स्थानीयको दुर्व्यवहारमा परेका थिए । 

फर्किने क्रममा मोरङको पथरी जङ्गल क्षेत्रमा अध्यक्ष ढकालले सबैको मोबाइल फोन नियन्त्रणमा लिई सोधपुछ तथा मानसिक यातना दिएको आरोपसमेत बाहिरिएको छ ।

कारबाहीमा परेका कृष्णप्रसाद अधिकारी, मनोज दाहाल र कर्मचारी तेजप्रसाद सुवेदीले गत बिहीबार पत्रकार सम्मेलन गरी संस्थाभित्र भएका अनियमितता र विकृति सार्वजनिक गरेका थिए । 

यो पनि :- इटहरीस्थित कामधेनु सहकारी संस्थाका कर्मचारीले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेपछि…..


यो पनि :- कामधेनु सहकारीमा आत्महत्या प्रकरणपछि आरोप–प्रत्यारोप : के भन्छन् अध्यक्ष ढकाल ?

प्रतिक्रिया

खेमराज सापकोटा
लेखकको बारेमा
खेमराज सापकोटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार