ललित–अम्बर डिपो कपः हिमशिखर प्लेट च्याम्पियन

बुधबार, ०२ पुस २०८२

धरान : धरानमा जारी २०औँ ललित–अम्बर डिपो कप २०८२ अन्तर्गतको लेट दिलकुमार प्लेट च्याम्पियनसिप कप–२०८२ मा हिमशिखर बोर्डिङ स्कुल, इटहरीले उपाधि जितेको छ।

बुधबार सम्पन्न फाइनल खेलमा हिमशिखरले प्रभात इङ्लिस बोर्डिङ स्कुल, धरान–१२ लाई सडन डेथमा पराजित गर्दै च्याम्पियन बनेको हो। निर्धारित समय र टाइब्रेकरमा समेत खेलको निर्णय हुन नसकेपछि खेल सडन डेथमा पुगेको थियो।

मुख्य स्पर्धाको पहिलो चरणमा पराजित भएका टिमहरूबीच प्रतिस्पर्धा गराउने उद्देश्यले प्रत्येक वर्ष लेट दिलकुमार प्लेट च्याम्पियनसिप आयोजना हुँदै आएको आयोजकले जनाएको छ।

प्लेट च्याम्पियन बनेसँगै हिमशिखर बोर्डिङ स्कुलले नगद ३ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता प्रभात इङ्लिस बोर्डिङ स्कुलले नगद २ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। विजेता तथा उपविजेतालाई पुरस्कार बिहीबार हुने ललित–अम्बर डिपो कपको फाइनल खेलपछि वितरण गरिने आयोजकले जनाएको छ।

मुख्य स्पर्धाअन्तर्गत बिहीबार हुने फाइनल खेलमा आयोजक डिपो सेकेन्डरी स्कुल, धरान–१८ र धरान इङ्लिस बोर्डिङ स्कुल, धरान–५ बीच प्रतिस्पर्धा हुनेछ। मुख्य स्पर्धाको विजेताले रनिङ शिल्डसहित नगद ११ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले शिल्डसहित नगद ७ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

यसैबीच, २०औँ ललित–अम्बर डिपो कप–२०८२ मा नेपाल पुलिस स्कुल, धरान–१३ तेस्रो भएको छ। बुधबार तेस्रो स्थानका लागि भएको खेलमा पुलिस स्कुलले आइडल इङ्लिस बोर्डिङ स्कुल, धरान–१४ लाई २–० गोल अन्तरले पराजित गरेको हो।

नेपाल पुलिस स्कुलको जितमा जर्सी नम्बर ११ का शुभम लिम्बू र जर्सी नम्बर ७ का सौगात श्रेष्ठले एक–एक गोल गरे। तेस्रो बनेको पुलिस स्कुलले शिल्डसहित नगद ३ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। नेपाल पुलिस स्कुल गत वर्ष सम्पन्न १९औँ ललित–अम्बर डिपो कपको च्याम्पियन टोली हो।

उक्त खेलमा नेपाल पुलिस स्कुलका शुभम लिम्बू ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई डिपो माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य खड्गशम्सेर लिम्बूले मायाको चिनो प्रदान गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार