भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा दुई करोड रुपैयाँको लागतमा मुन्दुम पदमार्गमा परिधीय संरचनासहित पदमार्ग निर्माण तथा पुनर्निर्माण कार्य सुरु भएको छ।
चखेवादेखि मैयुङसम्म पदमार्ग नभएका स्थानमा नयाँ पदमार्ग निर्माण गरिने र जीर्ण बनेका स्थानमा पुनर्निर्माण गरिने पदमार्ग निर्माण समितिका अध्यक्ष जीवन किरातीले जानकारी दिए। उनका अनुसार निर्माण कार्यमा किरात मुन्दुम संस्कृतिलाई झल्काउने विभिन्न सांस्कृतिक आकृतिहरू समेटिने छन्।
पर्यटकको सुविधालाई ध्यानमा राख्दै पदमार्ग क्षेत्रमा पार्क, चर्पी, विश्रामलयलगायत आवश्यक परिधीय संरचनाहरू निर्माण गरिने जनाइएको छ। यसका लागि छुट्टाछुट्टै दुई समिति गठन गरिएको छ। एक समितिले पदमार्ग निर्माणको काम गर्नेछ भने अर्को समितिले परिधीय संरचना निर्माणको जिम्मेवारी लिएको छ।
निर्माण कार्यमा करिब १५० जना श्रमिक खटाइने बताइएको छ। टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले पदमार्गलाई दीर्घकालीन रूपमा पर्यटन र कृषिसँग जोड्दै आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम भइरहेको बताए।
पूर्व नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा मुन्दुम पदमार्ग विकास हुँदै गएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले आकर्षक र गुणस्तरीय पदमार्ग निर्माण हुने विश्वास व्यक्त गरे।
प्राकृतिक सौन्दर्य र किरात मुन्दुमी संस्कृतिले भरिपूर्ण यो पदमार्गमा लेकाली हावापानीसँगै हिमाल, पहाडका थुम्का, बिहानीको सूर्योदय, समथर फाँटको मनोरम दृश्य, विभिन्न प्रकारका जडीबुटी, चरा–चुरुङ्गी तथा रेड पाण्डा समेत नजिकबाट अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ।
प्रतिक्रिया