पहिरोबाट परिवार गुमाएकी इलामकी फुटबल खेलाडी आकृतिको भविष्य बनाउन खेलकर्मी जुटे

शनिबार, ०१ कार्तिक २०८२

इलाम : इलामको माईजोगमाई गाउँपालिकामा परिवार गुमाएको पीडासँगै १६ वर्षीया आकृति सोङ्मीको आँखा अझै ओभाएका छैनन्।

असोज १८ गतेको त्यो कहालीलाग्दो रातले उनको जीवनभर नमेटिने घाउ दिएको छ। गाउँपालिकाको वडा नम्बर ६, प्याङस्थित सोङ्मी गाउँमा आएको पहिरोले आकृतिबाट एकै रातमा बुवा धनबल, आमा सरला, हजुरबुवा बमध्वज, हजुरआमा बुद्धिमाया र एक बहिनीलाई लग्यो। त्यसयता उनी न रातमा निदाउँछिन्, न दिनमा शान्त हुन्छिन्।

गाउँपालिकाको विकट पहाडी क्षेत्रमा पर्ने उनको गाउँमा लिम्बू समुदायको बाहुल्यता छ। आकृतिको परिवार सामान्य किसान थिए। बिहानदेखि परेको अविरल वर्षाका कारण उनीहरू घरमै थिए।

आकृतिको काका रविन सोङ्मीको घर केही पर छ, जहाँ दिउँसो नै बुवा धनबलले कान्छी छोरी स्मृतिलाई पठाएका थिए। त्यसैगरी, आकृति इलाम नगरपालिकास्थित एक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्। यसैले आकृति र उनकी बहिनी स्मृति दुवै पहिरोबाट जोगिए।

विद्यालयस्तरमै फुटबल खेल्दै आएकी आकृतिलाई बुवा धनबलले खेलकुद र अध्ययन दुबैमा राम्रो गर्न इलाम पठाएका थिए। तर अहिले आकृतिसँग न घर छ, न आँगन, न परिवार। एक रातमै प्राकृतिक विपत्तिले उनको सारा संसार बगर बनाइदियो।

माईजोगमाई गाउँपालिका–६ का वडाध्यक्ष दिपेश सोङ्मी लिम्बूका अनुसार आकृति र स्मृतिमाथि ठूलो बज्रपात परेको छ। उनले भने, “अभिभावकविहीन भए पनि हामी सबै अहिले उनीहरूको साथमा छौँ। अस्थायी घर बनाएर राख्ने सोचमा छौँ।”
त्यो रात पहिरोमा सोही वडाका ८ जनाको मृत्यु भएको थियो। तीमध्ये आकृतिको परिवारका ५ जना र किरण थेबेका ३ जना रहेका वडाध्यक्ष लिम्बूले जानकारी दिए।

हाल काका रविनको घरमा बसेकी आकृति र स्मृतिलाई बिहीबार नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ कोशी प्रदेश र कोशी प्रदेश फुटबल सङ्घले भेट गरेका थिए। पालिकास्तरबाट फुटबल खेल्दै आएकी आकृतिलाई भेट्नुको उद्देश्य पीडामा मलहम लगाउनु रहेको सङ्घका निवर्तमान संयोजक बसन्त अर्यालले बताए।

उनका अनुसार, “रकमले केही सहयोग त हुन्छ, तर हाम्रो ध्यान उनको भविष्यप्रति छ। हामी उनलाई फुटबलमै अघि बढाउने प्रयास गर्दैछौँ।” वडाध्यक्ष लिम्बूले पनि आकृतिको फुटबलमा भविष्य बनाउन सबैले साथ दिनुपर्ने बताए।

सङ्घका पदाधिकारीहरूले उनलाई फुटबल एकेडेमीमा पठाउने तयारीसमेत गरेका छन्। अर्यालले भने, “रौतहट फुटबल एकेडेमीमा उनी जस्तै एक युवती छिन्। आकृतिले त्यहाँ जान चाहना व्यक्त गरेकी छिन्, र हामी त्यसका लागि पहल गर्दैछौँ।”

कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले आकृति परिवारलाई आर्थिक रूपमा ४५ हजार रुपैयाँ सहयोग गरिएको जानकारी दिए। त्यस्तै, पहिरोमा ३ जना परिवार गुमाएका भक्त थेबेलाई ३० हजार र जिल्ला फुटबल सङ्घ इलामका सदस्य रमेश श्रेष्ठलाई २५ हजार रुपैयाँ सहयोग गरिएको उनले बताए।

पहिरोपीडितका लागि कोशी प्रदेश सरकारले घर बनाइदिने घोषणा गरे पनि त्यो अहिलेसम्म बोलीमै सीमित छ। वडास्तरमा घर निर्माणको प्रक्रिया सुरु हुन सकेको छैन।

वडाध्यक्ष लिम्बूका अनुसार, पहिलो चरणमा अस्थायी टहरा निर्माणका लागि ५० हजार रुपैयाँ दुई किस्तामा दिने तयारी भइरहेको छ।

उनले भने, “अहिले २५/२५ हजारका दुई किस्तामा टहरा निर्माणका लागि सहयोग आउने कुरा छ। तर त्यसका लागि पहिले निर्माण कार्य सुरु गर्नुपर्छ।”

वडाले परिवार गुमाएका आकृति र थेबे परिवारका लागि कागजात (जन्मदर्ता, मृत्युदर्ता आदि) तयार गर्ने काम गरिरहेको छ। लिम्बूले भने, “कागजात तयार भएपछि उनीहरूलाई सहज हुनेछ।

अहिले उनीहरू काकाको रेखदेखमा छन्। सरकारले तत्काल रकम उपलब्ध गराएर वा घर निर्माण गरिदिए उनीहरूलाई ठूलो राहत मिल्थ्यो।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार