इजरायली सेनाले भन्यो– विपिन जोशी जीवित छैनन्

सोमबार, २७ असोज २०८२

 हमासले अपहरण गरेका नेपाली युवा विपिन जोशी जीवित नरहेको इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले औपचारिक रूपमा घोषणा गरेको छ।

इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।

 नेपाली दूतावाससँग भिडियो कन्फरेन्स गरेर यो जानकारी दिएको इसरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका छन्।

‘आइडिएफले हामी र विपिनको परिवारसँग भिडिओ कुराकानी गरेर हिज इज नो मोर भन्ने जानकारी दियो,’ राजदूत पण्डितले भने, ‘परिवारकै सामु आइडिएफले यो घोषणा गर्‍यो।’

भिडिओ कुराकानीमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुश्पा जोशी अमेरिकाबाट सहभागी भएको बताइएको छ। परिवारका सदस्य किशोर जोशी, राजदूत पण्डित र आइडिएफका उच्च अधिकारीहरू समेत सो भिडियो संवादमा उपस्थित थिए।

राजदूत पण्डितका अनुसार आइडिएफका अधिकारीहरूले हमासले जीवित बन्धकहरूलाई केही समयभित्र मुक्त गर्ने तयारी गरेको र मृतक मध्ये केहीको शव अझै फेला नपरेको जानकारी दिएका छन्।

तर, नेपाल सरकारको परराष्ट्र मन्त्रालयले भने आइडिएफको भनाइलाई प्रारम्भिक आकलन मात्रै भएको प्रतिक्रिया दिएको छ।

‘आइडिएफको पनि आकलन मात्र हो,’ मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘अहिले पनि हामी विपिन सकुशल रिहा हुनेछन् भन्नेमा आशावादी छौं। विगतमा पनि आइडिएफका विवरणमा फरक आएको थियो।’

 प्यालेस्टाइनी समूह हमासले रिहा गर्ने बन्दीहरूको नाम सार्वजनिक गरेको तर उक्त सूचीमा नेपालका विपिन जोशीको नाम छैन ।

इजरायलसँगको युद्धविराम सहमति अन्तर्गतको पहिलो चरणमा सोमवार २० जना बन्दीहरूको रिहाइ गरिने भएको छ । उक्त सूचीमा जोशीसहित इजरायली सैनिक तमिर निमरोदीको नाम पनि त्यसमा छैन।

बिबिसीका अनुसार सार्वजनिक गरिएका सूचीमा रहेका नाम यस प्रकार छन् :

बार कुपरस्टाइन,एव्यातार डेविड,योसेफ-चाइम ओहाना,सेगेव काल्फनअविनातान ओर एल्काना बोहबोट ,म्याक्सिम हेरकिन,निमरोड कोहेन,माटान झाङाउकर,डेभिड कुनीओ,एइतान होर्न,माटान एन्ग्रेस्ट,एइतान मोर,गाली बर्मन,जिभ बर्मन,ओम्री मिरान,अलोन ओहेल,गाइ गिल्बोआ-डलाल,रोम ब्रास्लाब्स्की एरिएल कोनियो  ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार