झापा : यही कात्तिक १५ देखि २२ गतेसम्म यहाँ हुने अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ।
आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रंगशालामा प्रतियोगिता सञ्चालन हुने बताए।
तयारीका क्रममा खेलमैदानको घाँस काट्ने र प्यारापिट सजाउने काम भइरहेको उनले जानकारी दिए। उनका अनुसार रङ्गशालाको प्यारापिटमा ३०० जनालाई बस्नका लागि प्लास्टिकका कुर्सी जडान गर्ने काम भइरहेको छ।
शिवसताक्षी नगरपालिका प्रमुख मेघाहाङ थोप्राले प्रतियोगिता सञ्चालनका लागि रङ्गशालाको पक्की प्यारापिटलगायत भौतिक निर्माणका काम द्रुत गतिमा भइरहेको बताए। झापाको इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिता आयोजना हुन लागेकाले यसलाई भव्य रूपमा सम्पन्न गर्न सबैको सहयोग मिलिरहेको पनि उनले उल्लेख गरे।
प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, एपिएफ, नेपाल पुलिस क्लबसहित अन्य तीन ए–डिभिजन क्लब र भारत, भुटानलगायतका देशका टोलीहरू सहभागी हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टोलीलाई १० लाख रुपैयाँ र उपविजेतालाई पाँच लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिनेछ। ‘प्लेयर अफ द म्याच’ घोषित हुने खेलाडीलाई १५ हजार रुपैयाँ पुरस्कार दिइने जनाइएको छ।
प्रतिक्रिया