सुनसरीको अमाह सिमसारमा ढुङ्गा उफार्दै राहुल लिम्बू तेस्रो पटक पनि च्याम्पियन

सोमबार, ०३ कार्तिक २०८२

सुनसरी : स्टोन स्किपिङ च्याम्पियनसिप (पानी सुल्के प्रतियोगिता) मा राहुल लिम्बूले लगातार तेस्रो पटक जित निकालेका छन् । 

सुनसरीको वराहक्षेत्रस्थित अमाह सिमसारमा आयोजित च्याम्पियनसिपमा २७ पटक ढुङ्गा उफार्दै तेस्रो संस्करणको समेत विजेता बन्दै राहुलले नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । 

पहिलो र दोस्रो संस्करणको विजेता बनेका उनले सोमबार आयोजित प्रतियोगितामा १ सय १७ प्रतिस्पर्धीलाई उछिनेका थिए । 

२५ पटक स्किप गरेका (पानीमा ढुङ्गा उफारेका) भोजपुरका मनिष राई दोस्रो बने । उनले नगद १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे ।

pradeskhabar.com - 2025-10-20T165252.891

\प्रतियोगितामा वराहक्षेत्रका अधिकलाल चौधरी १९ स्किप गर्दै तेस्रो बने । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे । 

कोशी प्रदेश पर्यटन वर्ष-२०८२ का सहसंयोजक भविशकुमार श्रेष्ठले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए ।

pradeskhabar.com - 2025-10-20T170030.436

pradeskhabar.com - 2025-10-20T170421.300

उनले पर्यटनको विकासका लागि नौलो खेल पानी सुल्के प्रतियोगिताले प्रचार प्रसार र प्रवर्धन गरेको बताए । प्रदेश सरकार र पर्यटन व्यवसायीले समेत प्रतियोगिताको प्रवर्धन गर्ने बताए । 

जैविक विविधताको संरक्षण, स्थानीय पर्यटनको प्रवर्धनको नारासहित आयोजना गरिएको प्रतियोगिता चतरा हाइकिङ समूहको आयोजनामा बर्सेनि हुँदै आएको छ ।

प्रतियोगिताले स्थानीय पर्यटकीय स्थलको प्रचार प्रसार र प्रवर्धन गर्ने साथै नेपालको मौलिक खेललाई देशैभरि स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको चतरा हाइकिङका संस्थापक नवराज विष्टले जानकारी दिए । 

pradeskhabar.com - 2025-10-20T170155.211

यो खेलको अमेरिका, आयरल्यान्ड, स्कटल्यान्डलगायत देशमा नदी, ताल र जाम पानीमा प्रत्येक वर्ष प्रतियोगिता हुन्छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन् २०१३ मा यो खेलमा रेकर्ड राखेका छन् । नेपालमा विगत दुई वर्षदेखि सुनसरीको वराहक्षेत्रमा प्रतियोगिता आयोजना भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार