सुनसरी : इटहरीको पुरानो र लोकप्रिय संस्था राष्ट्रिय जागृति क्लबको अध्यक्षमा केशव कार्की सर्वसम्मत रूपमा चयन भएका छन्।
क्लबको आइतबार सम्पन्न ३५औँ साधारण सभा तथा अधिवेशनले कार्कीलाई आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो।
क्लबले विगत दुई वर्षसम्म सफल नेतृत्व प्रदान गरेको योगदानका लागि निवर्तमान अध्यक्ष सन्तबहादुर डुम्जनलाई धन्यवाद ज्ञापन गरेको छ।
त्यसैगरी, क्लबको रिक्त रहेका दुई सदस्य पदमा इटहरीका व्यवसायी विदुर ढकाल र राजकुमार कार्कीलाई सर्वसम्मत रूपमा चयन गरिएको निर्वाचन समितिका संयोजक तथा क्लबका पूर्व अध्यक्ष प्रदीप रेग्मीले जानकारी दिए।
अधिवेशनले उपाध्यक्षमा निवर्तमान सचिव श्याम मानन्धर, सचिवमा निवर्तमान कोषाध्यक्ष अनुरोध थापा, सहसचिवमा नारायण ढुङ्गाना, र कोषाध्यक्षमा बुद्ध तामाङलाई सर्वसम्मत रूपमा चयन गरेको छ।
क्लबको विधानअनुसार, अध्यक्षको कार्यकाल सकिएपछि अन्य पदाधिकारीहरू क्रमशः एक–एक तह माथि पदोन्नति हुने व्यवस्था रहेको पनि उल्लेख गरिएको छ।
राष्ट्रिय जागृति क्लबले हरेक वर्ष पूर्वाञ्चलकै प्रतिष्ठित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता इटहरी गोल्डकप आयोजना गर्दै आएको छ।
विगत १५ वर्षदेखि लगातार सञ्चालन हुँदै आएको गोल्डकपको १६औँ संस्करण आगामी चैत्रको पहिलो साताबाट सुरु गर्ने तयारीमा क्लब रहेको छ।
प्रतिक्रिया