उज्यालो र उमङ्गको पर्व तिहार आजदेखि सुरु

शनिबार, ०१ कार्तिक २०८२

काठमाडौँ : उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ। आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको हो।

दिउँसो १ः२३ बजेपछि कात्तिक कृष्ण त्रयोदशी तिथि पर्ने भएकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाइने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार यमदीपदान पनि आजैदेखि सुरु हुनेछ। उनले काग तिहार भने आइतबार पर्ने जानकारी दिए।

शास्त्रीय मान्यताअनुसार, सायङ्कालमा त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी तथा यमदीपदान पर्व मनाइन्छ। प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी परे काग तिहार मनाइन्छ। यिनै कारणले यस वर्ष यस्तो निर्णय गरिएको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताए।

यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास रहिआएको छ। धनवन्तरी जयन्ती भने आइतबार पर्ने समितिले जनाएको छ। तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन पर्ने जानकारी पनि समितिले दिएको छ।

प्रा. तोयराज नेपालका अनुसार यमदीपदान परिवारका सदस्यसंख्याका आधारमा गर्नुपर्छ र यो दक्षिण फर्काएर गर्नुपर्ने हुन्छ। यो दान कात्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया (भाइटिका) सम्म गरिन्छ।

समितिका अध्यक्ष ढकालका अनुसार, कात्तिक २ गते आइतबार बिहान अरुणोदयकालमा नरक स्नान गरी कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गरिने छ।

सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गर्नुपर्ने शास्त्रीय विधि छ। यसलाई ‘नरक स्नान’ भनिन्छ। यस दिन विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउँदा नरकको यातना सहनु नपर्ने विश्वास रहिआएको छ।

कात्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपर्ने समितिले जनाएको छ। रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने परम्परा शास्त्रसम्मत छ।

यस वर्ष कात्तिक ४ गते मङ्गलवार औँसी तिथि दिउँसो ४ः२९ बजेसम्म मात्र पर्ने भएकाले त्यो दिन कुनै विशेष पर्व नपरेको समितिको भनाइ छ।

गाईगोरु र गोवर्द्धन पूजा कात्तिक ५ गते बुधबार पर्ने भएको छ। सोही दिन हली तिहार, बलीपूजा, आत्म (म्ह) पूजा र नेपाल संवत् ११४६ को आरम्भ पनि हुनेछ। शास्त्रअनुसार, प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्मपूजा गर्ने व्यवस्था छ। त्यसै दिन सूर्य उदाएसँगै नेपाल संवत् नयाँ वर्ष सुरु हुने मान्यता छ।

कात्तिक ६ गते बिहीबार भाइटिका पर्छ। यस दिन बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत रहेको समितिका सदस्य लक्ष्मण पन्थीले बताए। भाइटिका पश्चिम मोहडातर्फ फर्केर गर्नुपर्ने शास्त्रअनुसार हुन्छ। भाइले पश्चिम फर्केर र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउनुपर्छ।

सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत रहेको समितिले जनाएको छ। राज्यका प्रमुखहरूले भने शुभ साइतमा टीका लगाउने प्रचलन छ। भाइपूजा (नेवारी भाषामा किजापूजा) पनि यही दिन मनाइन्छ। बेलुकी सूर्यास्त नभएसम्म टीका लगाउन कुनै समस्या नरहेको समितिले स्पष्ट पारेको छ।

‘झिलिमिलीको चाड’ भनेर चिनिने तिहारका अवसरमा एक साताअघि नै राजधानीलगायत प्रमुख सहरहरूमा विभिन्न किसिमका बत्तीहरू बाल्न सुरु भइसकेका छन्। उज्यालोले शहर रमणीय बनेको छ। केही ठाउँमा आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमादेखि नै दीपावली सुरु गर्ने चलन पनि बढ्दै गएको छ।

बडादसैँमा सुनसान हुने काठमाडौँ उपत्यका तिहारमा झिलिमिलीले उत्सवमय रूप लिने गर्छ। लक्ष्मीपूजाको दिन ‘भैलो’ र गोवर्द्धन पूजाको दिन ‘देउसी’ खेल्ने परम्परा छ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा कोजाग्रत पूर्णिमादेखि नै देउसी भैलो खेल्ने चलन रहिआएको छ।

यस पर्वमा कौडा, लंगुरबुर्जा, तासलगायतका जुवा खेल्ने चलन पनि छ। नेपाल प्रहरीले भने पटाका नपड्काई सभ्य रूपमा तिहार मनाउन आग्रह गरेको छ। यद्यपि, हरेक वर्षजस्तै यस वर्ष पनि धेरै सङ्ख्यामा पटाका बरामद भए पनि त्यसलाई पड्काउने चलन भने रोकिएको छैन।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार