सरकारी नीतिलाई लत्त्याउँदै जेनेभा उड्यो राष्ट्रिय सभा अध्यक्ष दाहालको टोली !

शनिबार, ०१ कार्तिक २०८२

काठमाडौँ : जेनजी विद्रोहपछि बनेको सरकारको नीतिलाई छक्क्याउँदै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको टोली शुक्रवार जेनेभा उडेको छ ।

स्विट्जरल्यान्डको जेनेभामा २ देखि ६ कात्तिकसम्म हुने अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू)को महासभामा सहभागी हुन अध्यक्ष दाहाल सरकारको नीतिविपरीत ६ जनाको टोली लिएर प्रस्थान गरेका हुन् ।

सरकारको नीतिविपरीत राष्ट्रिय सभा अध्यक्षको भ्रमण

अर्थ मन्त्रालयले गत ७ असोजमा सरकारी खर्च कटौती र मितव्ययी बन्ने उद्देश्यले सरकारको प्रतिनिधित्व हुने अन्तर्राष्ट्रिय सभा–सम्मेलनमा नेपाल सरकारको स्रोतबाट हुने प्रतिनिधिमण्डलमा बढीमा तीन जना मात्र सहभागी हुन पाइने निर्णय गरेको थियो । उक्त निर्णयमा राष्ट्र वा सरकार प्रमुखको भ्रमणमा बढीमा १० जना मात्र सहभागी हुने प्रावधान रहेको छ ।

तर, राष्ट्रिय सभा अध्यक्ष दाहालको संयोजकत्वमा आईपीयूको महासभामा भने तीन जना कर्मचारीसहित ६ जना विदेश उडेका छन् ।

टोलीमा सहभागी संसद्का सचिव रोजनाथ पाण्डेले चतुर्यपूर्वक आईपीयू महासभामा हुने सत्रलाई बेग्लाबेग्लै कार्यक्रम प्रस्ताव गरेर तीन–तीन जनाको टोली बनाएर अर्थ मन्त्रालयबाटै भ्रमण स्वीकृत गराएको खुलेको छ ।

‘अर्थ मन्त्रालयलाई नै गुमराहमा राखेर राष्ट्रिय सभाको भ्रमण दलले दुई वटा बेग्लाबेग्लै कार्यक्रममा तीन जनाको दरले भ्रमणमा जाने भनेर सरकारबाट स्वीकृति लिएको छ,’ अर्थ मन्त्रालयका एक सहसचिवले राजधानीसँग बताएका छन् ।

तर, सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले सार्वजनिक गरेको विज्ञप्तिमा भने आईपीयूको महासभामा अध्यक्ष दाहालको नेतृत्वमा राष्ट्रिय सभाका सांसदद्वय—नेकपा माओवादी केन्द्रका गोपीबहादुर अछामी र नेकपा एकीकृत समाजवादीकी मदनकुमारी साह (गरिमा)—र व्यवस्थापिका संसद्का महासचिव पाण्डेले सहभागिता जनाउने उल्लेख छ ।

अर्थ मन्त्रालयले स्वीकृत गरेको भ्रमण दलमा व्यवस्थापिका संसद्का सचिव पाण्डे र सहसचिव बबिता मिश्राको पनि नाम रहेको बताइएको छ । भ्रमण दलमा अध्यक्षको नेतृत्वमा दुई सांसद र महासचिवको नेतृत्वमा दुई कर्मचारी रहने गरी बेग्लाबेग्लै टोली देखाइएको छ ।

तर, आईपीयूको महासभामा भने महासभाअन्तर्गतका सत्रबाहेक अन्य बेग्ला कार्यक्रम नभएको संसद् सचिवालयकै कर्मचारी बताउँछन् ।

रोचक त के छ भने प्रवक्ता गिरीले जारी गरेको भ्रमण टोलीसम्बन्धी विज्ञप्तिमा संसद् सचिवालयका सचिव पाण्डे र सहसचिव मिश्राको नाम नै उल्लेख छैन ।

भ्रमण दलका सदस्यबारे राजधानीको जिज्ञासामा व्यवस्थापिका संसद्का प्रवक्ता गिरीले दुई जनाको नाम उल्लेख नगरिएको विषयमा स्पष्ट जवाफ दिएनन् । तर, उनले आईपीयूका बेग्लाबेग्लै दुई वटा कार्यक्रममा सहभागी हुन अध्यक्ष र महासचिव नेतृत्वको दुई टोली जेनेभा प्रस्थान गरेको बताए ।

जेनजी आन्दोलनपछि बनेको सरकारलाई छलेर भ्रमणमा गएको टोलीले भ्रमण दलका सबै सदस्य सार्वजनिक हुने डरका कारण फोटोसमेत सार्वजनिक गरेको छैन ।

विगतका भ्रमणका क्रममा महासभामा जाने टोलीलाई विमानस्थलमा भव्य बिदाइ गरी फोटो सार्वजनिक गर्ने र पत्रकार सम्मेलनसमेत गर्ने प्रचलन थियो । तर, यसपटक कर्मचारीको बदमासीका कारण एउटै कार्यक्रमलाई टुक्र्याएर तीन जना मात्र जान पाउने नियममा ६ जना गएपछि आधिकारिक रूपमा फोटोसमेत सार्वजनिक गरिएको छैन ।

आईपीयूकै स्थायी सदस्यमाथि ‘कू’

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको टोलीले आईपीयूकै एउटा महत्त्वपूर्ण समितिको सदस्य रहेकी राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यलाई भने भ्रमण दलबाट छुटाएको पाइएको छ ।

डा. शाक्य अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू)को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट विजयी भएकी हुन् ।

मालदिभ्स र इरानका प्रतिनिधिलाई हराएर स्थायी समितिमा निर्वाचित भएकी शाक्यलाई आयोजकले निमन्त्रणा गरे पनि भ्रमण दल सदस्यका रूपमा सिफारिस नगरिएकाले उनको नाम अनुमोदन हुन सकेन । भ्रमण दलमा सहभागी नगराइएपछि स्थायी सदस्य भएर पनि उनी कार्यक्रममा सहभागी हुन पाइनन् ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार