विराटनगर । विराटनगर बसपार्कबाट भारतीय नक्कली नोटसहित दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरु भारतीय नागरिक हुन् ।
भारत बिहारको अररियाका २३ वर्षीय मोहमद अरवाज र मोहमद राजालाई शुक्रबार साँझ ६ः३० बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु भारतको जोगवनीबाट सीटी सफारीमा चढेर आएका विराटनगर आएका थिए ।
अरवाजले सफारी चालकलाई भारतीय २ सय रूपैयाँको नोट दिएका थिए । सफारी चालकले नोट नक्कलीजस्तो देखेपछि प्रहरीलाई खबर गरे । प्रहरीले शरीर खानतलासी गर्दा अरवाजको साथबाट २ सय दरका १८ थान र ५ सय दरको १ थान नक्कली नोट बरामद भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
त्यसलगत्तै प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरू नक्कली भारतीय नोट नेपाल भित्र्याउने गिरोहसँग सम्बन्धित हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
प्रहरीका अनुसार फेला परेका नोटहरू विशेष प्रकारको प्रिन्ट र रंगको प्रयोग गरी छपाइ गरिएको देखिन्छ । जसलाई साधारण व्यक्तिलाई वास्तविक नोटभन्दा फरक छुट्याउन कठिन हुने बताइएको छ । दुवै जनामाथि थप अनुसन्धान भइरहेको र कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया